सेमिफाइनलमा नेपालको भेट भारतसँग पक्का

बाइलाइन नेपाल
१० कार्तिक २०८१, शनिबार ०७:३७

साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक-एक गोल गरे ।

जितपछि नेपाल र भुटानले समूह बीमा ३ खेलबाट समान ७ अंक जोडे । तर गोल अन्तरमा नेपाल अघि रह्यो । नेपाल र भुटान दुवैले समान १७ गोल गरे । तर नेपालले कुनै गोल खाएन भने भुटानले एक गोल खाएको थियो ।

साफ वुमन्स च्याम्पियनसिपमा अहिलेसम्म भएको सबै सातवटै संस्करणमा नेपाल सेमिफाइनल पुगेको छ । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।

दशरथ रंगशालमा सात हजार भन्दा बढी दर्शकमाझ नेपालले सुरुवाती १३ मिनेटमै ३ गोल गर्दै शानदार सुरुवात गरेको थियो ।

खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले दायाँ साइडबाट उपलब्ध गराएको क्रसमा पेनाल्टी स्पट ठीक अगाडिबाट सबिताले वान टचमै गोल गरिन् ।

जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । प्रीति राईको थ्रु पासमा विमल विकले दिएको पासमा सावित्राले करिब २५ यार्ड टाढाबाट सुन्दर गोल गरेकी थिइन् । यस संस्करणमा पहिलो गोल गरेकी सावित्राले नेपालका लागि गोल संख्या ५४ पुर्‍याइन् ।

त्यसको दुई मिनेटपटि नै रेखाले अमिसा कार्की पासमा गोल गर्दै नेपालको अग्रता ३-० बनाइन् । अघिल्लो खेलमा माल्दिभ्सविरुद्ध एक्लै पाँच गोल गरेकी रेखाको जारी साफमा यो छैटौं गोल हो ।

रेखाले नै ३६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो । सावित्राले श्रीलंकाकी डिफेण्डरलाई छलाउँदै बक्स भित्रबाट हानेको बल रेखालाई लाग्दै गोल भएको हो ।

श्रीलंकाविरुद्ध दुई गोल गरेपछि रेखा भुटानकी देकी लाजोमसँगै संयुक्त रुपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छिन् ।

दोस्रो हाफको सुरुवात देखि नै नेपालले विपक्षीमाथि लगातार दबाब बनायो । त्यसको नतिजास्वरुप नेपालले ४७औं मिनेटमा पाँचौ गोल गर्‍यो ।

सबिता राना मगरको पासमा अमिसा कार्कीले गोल गर्दै नेपालको अग्रता ५-० बनाइन् । त्यसपछि पनि नेपालले लगातार श्रीलंकाको पोष्टमा आक्रमण गरिरह्यो । तर फिनिसिङ कमजोर रह्यो ।

दोस्रो हाफमा श्रीलंकाली किपर आरजी विरासिंघा व्यस्त रहिन् । उनले नेपालको आक्रमणलाई लगातार विफल पारिन् ।

८३औं मिनेटमा रेखा पौडेलले गोल गरेपनि मान्यता पाएन । अनिता बस्नेतको कर्नरमा सावित्राले बक्स भित्रबाट हानेको हेडर बारमा लागेर पर्केपछि सिक्स यार्ड बक्समा रहेकी रेखाले हेडमार्फत सहजै गोल गरेपनि असिस्ट्यान्ट रेफ्रीले अफसाइड झण्डा उठाइदिए ।

तर इन्जुरी टाइमको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले अनिता बस्नेतको कर्नरमा हेड मार्फत गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन् र समूह विजेता बनाउन योगदान गरिन् ।

अब आइतबार पहिलो सेमिफाइनल बंगलादेश र भुटान तथा दोस्रो सेमिफाइनल नेपाल र भारतबीच हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*