साफ वुमन्स च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

बाइलाइन नेपाल
१ कार्तिक २०८१, बिहीबार २०:१३

बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १-१ गोल गरे ।

पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १-१ गोल गरे । यसै खेलबाट भारतकी कप्तान अशलता देवीले एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गरिन् ।

खेलको सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौं मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।यस्तै मनिषा कल्यानले १७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।

३५ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ३-० को अग्रता बनायो । बक्सभित्र प्राप्त फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिएकी थिइन् र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

भारतका लागि डाङ्मेई ग्रेसले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन् ।

दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो । ४७ औं मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याइन् ।

७८ औं मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन् । प्रतियोगितामा सर्वाधिक ५ पटकको उपाधि विजेता भारतले समूह ए मा ३ अंक जोडेको छ ।

भारतका प्रशिक्षक सन्तोषकुमार कश्यपले प्रतियोगितामा सुरुवात राम्रो भएको बताए । ‘हाम्रो लागि च्याम्पियनसिप राम्रो सुरुवात भएको छ ।सबैले राम्रो खेले । बीचमा केही दबाब भएको थियो । तर पाँचौं गोलपछि सहज भयो’, उनले भने ।

भारतकी कप्तान अशलता देवीका लागि बिहीबारको खेल १०० औं खेल थियो । उनले पनि प्रतियोगिताको पहिलो खेल जित्नु महत्वपूर्ण भएको बताइन् । ‘म १०० औं खेलमा एकदमै खुशी छु । १०० औं खेल खेल्ने म पहिलो भारतीय खेलाडी बनेँ । म धेरै उत्साहित थिएँ र त्यसले गर्दा पेनाल्टी पनि दिएँ । धेरै उत्साहित हुनुहुन्न भन्ने पनि मैले आज सिकेँ’, उनले भनिन् ।

पाकिस्तानका प्रशिक्षक आदिल रिज्कीले पाएका केही अवसर उपयोग गर्न नकस्दा पराजित भएको बताए । ‘अब बंगलादेश विरुद्ध खेल्दा डिफेन्समा सुधार गर्नुपर्छ । बंगलादेश टिम फेरिएको छ र कोच नयाँ छन् । हाम्रो लागि सजिलो भने हुने छैन’, उनले भने ।

प्रशिक्षक आदिलले खेलमा रेफ्रीको भूमिकामा प्रश्न उठाए । ‘खेलमा रेफ्री ठूलो समस्याको रुपमा रह्यो । केही ब्याड कल भयो जसले गर्दा खेलमा असर गर्‍यो, भारतले पनि राम्रो खेल्यो’, उनले भने ।

भारत यो जितपछि सेमिफाइनल नजिक पुगेको छ । समूह ए मा भारत र पाकिस्तानसहित साविक विजेता बंगलादेश छ ।यस समूहको अर्को खेल आउने आइतबार पाकिस्तान र बंगलादेशबीच हुनेछ ।

बंगलादेशले पाकिस्तानलाई पराजित गरेमा भारत र बंगलादेश समूह चरणमा खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा शुक्रबार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स र नेपाल र भुटानबीच खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*