मकवानपुर लिग फुटबलको उपाधि पदमपोखरी युवा क्लबलाई

बाइलाइन नेपाल
१९ आश्विन २०८१, शनिबार २१:१४

मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको पाँचौ संस्करण उपाधि पदमपोखरी युवा क्लबले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा सहिद स्मृति क्लबलाई ३–१ ले हराउँदै पदमपोखरी च्याम्पियन बनेको हो ।

खेलको २४ मिनेटमै दिवश गोलेको गोलमार्फत पदमपोखरीले अग्रता लिएको थियो । ३९ औं मिनेटमा उप्रान्त आलेको उत्कृष्ट गोलमार्फत सहिद स्मृति खेलमा फर्किएको थियो । त्यसअघि आलेको पेनाल्टी प्रहारलाई पदमपोखरीका गोलरक्षक रोजक थिङले बचाएका थिए । पदमपोखरीले दोस्रो हाफमा २ गोल थपेको थियो ।

पदमपोखरी विजेश तितुङले ६८ औं मिनेटमा अग्रता दोब्बर बनाए । अतिरिक्त समयको अन्तिम मिनेटमा पदमपोखरीका लागि बिकी जिम्बाले निर्णायक गोल गरेका हुन् । फाइनल खेलको म्यान अफ द म्याच पदमपोखरीका विजेश तितुङ घोषित भए । पदमपोखरीका रोजक थिङ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा नमराज थिङ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भए ।

वाग्मतीका अरुण आले उत्कृष्ट डिफेण्डर र उप्रान्त आले उत्कृष्ट फरवार्ड घोषित भए । प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामा लगायतले पुरस्कार वितरण गरेका हुन् ।

३५ दिन सञ्चालन भएको लिगको ९१ खेलपश्चात् प्रतियोगिता विजेता टोलीको टुंगो लागेको हो । योसँगै जिल्ला लिगको एउटा चक्र मकवानपुरमा पूरा भएको छ । अब मकवानपुरमा ए, बी र सी डिभिजन टोली आगामी वर्षबाट लिगको ढाँचाको लागि तयार भएका छन् । यसवर्षबाटै लिगमा रेलिगेशनको प्रावधान राखिएको थियो ।

प्रतियोगिताको विजेता पदमपोखरीले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सहिद स्मृति क्लब वाग्मतीले ५० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । लिगको विजेता पदमपोखरीले बागमती प्रदेश लिगसमेत खेल्नेछ । लिगमा मकवानपुरका २८ वटा क्लबको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*