हेटौंडामा साइकल जात्रा भव्य

बाइलाइन नेपाल
१९ भाद्र २०८१, बुधबार २०:११

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा  साइकल जात्रा २०८१  भएको छ । मकवानपुर जिल्ला साइक्लिङ् संघको सहकार्यमा आयोजित साइकल जात्रामा २४७ जनाले सहभागिता जनाएका थिए ।

हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साइकल जात्राका सहभागीहरुले हेटौंडाको विभिन्न ठाउँको कूल ३७.५ किलोमिटर यात्रा गरेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सांसद् इन्द्रबहादुर बानियाँले शनिबार विहान साइकल जात्राको उद्घाटन गरे भने दिउँसो सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बानियाँले साइकल जात्राले सहरलाई स्वस्थ र स्मार्ट बनाउनुको साथै साइकलको प्रयोग वातावरणमैत्री एवम् मानव स्वास्थ्यका लागि राम्रो हुने बताए ।

‘सहरी क्षेत्रको प्रदुषण अधिकाँश सवारी साधनको प्रयोगले भएको छ । साइकल चढ्ने संस्कृतिको विकास गर्न सके हावाको प्रदुषण घट्छ र सहर सहरबासी स्वस्थ हुनेछन् । त्यतिमात्रै होइन, यस प्रकारका कार्यक्रमले आपसी सद्भाव र बन्धुत्वको भावनासमेत बढ्छ ।’ उनले भने ।

यात्रीहरुले हुप्रचौरबाट कपुर कम्प्लेक्स हुँदै, चौकीटोल, सानोपोखरा चोक, चुच्चेखोला, हटिया, कमाने, हनुमान गेट, सिमेन्ट रोड, पदमपोखरीको पानतले, कुस्माण्ड सरोबर र सिमेन्टरोड हुँदै हेटौँडा जेसीजको सचिवालयसम्मको यात्रा गरेका थिए ।

सचिवालयमा आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै क्रमश ८ वर्ष र ७ वर्षकी रोनीता खड्की र स्वीकृती मिश्रले पनि ३७।५ किलोमिटर यात्रा पूरा गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।

सन् २०१७ बाट सुरु भएको साइकल जात्रा कार्यक्रम २०१८ मा पनि भएको थियो । बीचमा निरन्तरता पाउन नसकेको सो कार्यक्रम अहिले पुनः २०२४ मा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*