प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा

बाइलाइन नेपाल
१० भाद्र २०८१, सोमबार ०७:२६

हेटौंडा – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिर्जना कला केन्द्रमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष रबिन्द्र थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घलानले लोक र मौलिकताको संरक्षणमा जोड दिए। उनले भने, “लोक र मौलिकता जोगाउनु पर्छ। पहिले गीत सुन्न मेला र पर्वमा जानुपर्ने अवस्था थियो, तर अहिले त्यस्तो छैन। यसको संरक्षण गर्ने भूमिका हामी सबैको हो।” उनले नेपालको सांस्कृतिक धरोहरको रूपमा रहेको लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको बताए।

संस्थाका उपाध्यक्ष चन्द्र बहादुर बजगाईले स्वागत मन्तव्य दिएका थिए भने सचिव काजीमान गोले (अमर)ले संगठित प्रतिवेदन प्रस्तुत गरे। अध्यक्ष रविन्द्र थिङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे।

संस्थापक ऋषिलाल श्रेष्ठले लुकेको कला र गलाको संरक्षण गर्न आवश्यक रहेको बताउँदै हेटौंडाको गौरवशाली इतिहास जोगाउन आग्रह गरे। उनले भने, “मकवानपुरको चर्चा हुन्छ, यो चर्चा कायम राख्नुपर्छ। कला प्रस्तुत गर्दा सम्यमित हुनुहोस्। कलाको लागि यो संस्था अपरिहार्य छ।”

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशका कोषाध्यक्ष क्षेत्र बहादुर थिङ अमरले लोक गीतको संरक्षण गर्नु आजको आवश्यकता रहेको भन्दै शुभकामना व्यक्त गरे।

जिल्ला कार्यसमिति सल्लाहकार तथा संस्थापक सहसचिव नारायण रेग्मीले सबैको उद्देश्य एउटै भए पनि विधा फरक हुने बताउँदै सबैले जगेर्ना गर्नुपर्ने आग्रह गरे।

राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरका अध्यक्ष अचित लोप्चनले आजकाल केही विकृतिहरू देखा परेको स्वीकार गर्दै दोहोरीलाई फोहोरी नबनाउन आग्रह गरे।

मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामाले कला र संस्कृति जोगाउनु सबैको दायित्व रहेको बताए। उनले विकृतिहरूलाई नियन्त्रण गर्दै लोक तथा दोहोरी गीतको मूल भावना र गरिमा कायम राख्नुपर्ने र समाजमा सकारात्मक सन्देश फैलाउने खालका गीतहरूको निर्माण र प्रसारणमा जोड दिनुपर्ने बताए।

हजुरको खबर डट कमका रूपक कालिराजले संस्थाले कला र संस्कृति संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। उनले मकवानपुरको कुना-कुनामा लोकदोहोरी प्रतिष्ठानले कला संरक्षण र लोकभाका जोगाउने काम गरिरहेको सन्देश जनतामा पुगेको बताए। साथै, उनले कतिपय दोहोरी गीतहरूमा देखिएका अश्लीलता र नकारात्मक सन्देशहरूले समाजमा नकारात्मक असर पार्न सक्ने भन्दै प्रतिष्ठान सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष रविन्द्र थिङले आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताए। उनले लोक संस्कृति सांस्कृतिक महोत्सव आयोजना गर्ने, संस्थाको भवन निर्माण गर्ने र लोक संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिए।

साधारणसभाले लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको कानुनी सल्लाहकारमा अधिवक्ता रामशरण लामिछानेलाई मनोनित गरेको छ। साथै, विभिन्न खाली रहेका पदहरूमा समेत नयाँ सदस्यहरू मनोनीत गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*