संकटमा मुख्यमन्त्री जम्कट्टेल, नेकपा एसले विश्वासको मत नदिने

हेटौंडा । सत्ता गठबन्धन परिवर्तन भएपछि विशवासको मत लिने अघिल्लो दिन नेकपा एकीकृत समाजवादी पार्टी ( नेकपा एस) ले विश्वासको मत नदिने निर्णय गरेपछि बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन् ।
‘नाटकीय परिवर्तन’ नभए सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । नेकपा एसको आइतबार बसेको बैठकले ‘नाटकीय परिवर्तन’ नभएको खण्डमा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वागमती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए ।
‘माओवादी केन्द्र र एमालेले जुनजुन निर्णय गर्छ, ती निर्णय हामीले मान्नु पर्छ भन्ने छैन । विश्वासको मत यो प्रदेशमा मात्रै नभई अन्यमा पनि लिनुपर्ने अवस्था छ । त्यसकारणले कुन प्रदेश कसको नेतृत्वमा जाने एकीन नभएसम्म हामी विश्वासको मतको पक्षमा उभिँदैनौं, खनालले भने ।
मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा एस ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन ।
कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।