तस्वीरबाटै थाहा नगर चिनाउन तल्लिन फोटो पत्रकार गणेश विष्ट

राजकुमार केसी
२० आश्विन २०८०, शनिबार ०७:३०

थाहा नगरपालिका आसपासको पर्यटन प्रवद्र्धनका लागि थाहानगरका युवा फोटो पत्रकार गणेश विष्ट निरन्तर लागि परेका छन् । उनी फुर्सद हुने बित्तिकै क्यामेरा बोकेर कहिले झरना, खोला, जंगल, डाँडापाखा, मठमन्दिर, चौर चौतारा कुदिहाल्छन् । थाहा नगरको शिखरकोटमा मोबाईल पसलको व्यवसाय गर्दै गरेका विष्ट साथीहरुले घुम्न जाउँ भनेपछि क्यामेरा भिरेर पसलको सटर बन्द गरिहाल्छन् ।

थाहा नगरपालिका–३ को स्थायी बासिन्दा विष्ट चार दाजुभाई मध्ये कान्छो हुन् । प्राकृतिक सौन्दर्यतामा रमाउने गणेश प्रकृतिमा रहेका विभिन्न स्थानहरु, मठ मन्दिर, सूर्योदय र सूूर्योस्तको फोटो खिच्न र सामाजिक सञ्जालमा पोष्ट गर्न रुचाउँछन् । विष्ट कृषि कर्मका गतिबिधिहरु र जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु खिचेर प्रदर्शन गर्न निकै सिपालु छन् । स्थानीय जीवनशैली र रहनसहनका फोटो पनि निकै कलात्मत ढंगले खिच्छन् विष्ट ।आनन्द प्राप्तिका लागि मानिसहरुले विभिन्न नशाहरु सेवन गरी खुसी हुन चाहन्छन् । तर विष्ट अलि फरक स्वभावका छन् ।

प्रकृति प्रेमको छुट्टै खाले नशा छ उनीमा, उनी प्रकृतिको सुन्दरता उनको क्यामेराले मात्रै नभई हृदयले समेत खिच्न भ्याउँछन् र ती तस्वीरहरुलाई सामाजिक सञ्जालमा प्रस्तुत गरेर सबैलाई दंग पारिदिन्छन् । मृदुभाषी, मिलनसार सामाजिक विकासका लागि केही गरौं भन्ने सकारात्मक सोचका धनी विष्ट नेपालमा अथाह सम्भावना भएको बताउनुहुन्छ । उनी यहाँको पर्यटनलाई मात्र व्यवसायीकता दिन सके रोजगारीको लागि युवाहरु विदेशिन नपर्ने बताउँछन् ।

थाहा नगरपालिका पर्यटकीय रुपले अत्यन्तै सुन्दर र सम्भावना बोकेको स्थान भएकोले फोटोमार्फत् थाहा नगरलाई परिचित गराउनको लागि आफूले मेहनत गरेको विष्टले बताउँछन् । उचित प्रचारप्रसारको अभावका कारण थाहा नगर पर्यटकीय विकासमा पछाडि परेको उनको धारणा छ । थाहा नगर कृषि र पर्यटकीय हिसावले अत्यन्तै विकास हुनुपर्ने स्थान भएको र यहाँको पर्याप्त प्रचारप्रसारको कमी रहेको बताउँछन्, विष्ट । विकासका सूचकहरुमध्ये पर्यटकीय विकास पनि अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ । मकवानपुर जिल्लाकै अत्यन्तै सुन्दर स्थलको रुपमा थाहा नगरपालिका परिचित छ । यहाँका प्रकृतिक सौन्दर्यताका कारण एक पटक थाहा नगर आएका मानिसहरु पटक पटक आउन रुचाउँछन् ।

 

फोटो पत्रकार गणेश विष्ट

सामान्य परिवारका विष्ट प्रकृतिसँग रमाउन मन पराउँछन् । आफ्नो मोवाईल पसलसँगै सहकारी संस्थामा कार्यरत विष्ट बिदाको दिन प्रायः नयाँ नयाँं स्थानतिर घुम्न निस्कन्छन् । कहिले एक्लै त कहिले साथीहरुसंग थाहा नगर लगायतको बिभिन्न स्थानहरु घुम्न जान पसल बन्द गर्न तुरुन्त तयार हुन्छन् बिष्ट ।

थाहा नगर र ईन्द्रसरोबर गाँउपालिकाको सिमानामा रहेको मोहीनी झरना होस वा थाहा नगरपालिका वडा नं। ११ को मुस्कान झरना गणेश विष्टलेनै फोटो खिचेर सार्वजनिक गरेका हुन् । त्यसोत थाहा ११ को नर्वे ढुँगा र थाहा ३ को भकारी ढुँगा, थाहा ११, ६, १२ का सिमानामा रहेकोे मुलाबारी चौर र मनकामना मन्दिर होस् वा थाहा ७ को उनिउ चौर गणेश बिष्टकै फोटोग्राफीले चर्चित भएको हो भन्न सकिने पर्याप्त आधारहरु छन् ।

नेपालकै पहिलो दामनको भ्युटावर र त्यहाँबाट देखिने हिमश्रृङखला, नेपालकै ठूूलो चौर मध्येको चित्लाङको भेडीचौर, मानवनिर्मित नेपालकै ठूलो जलाशय कुलेखानी (ईन्द्रसरोवर) को फोटो खिचेर सार्वजनिक गरेका छन् गणेश विष्टले । उनि फोटोग्राफी संगै समाचार लेखनमा पनि रुची राख्दछन् । उनले सामाजिक विकास, चासो र चिन्ताको बिषयमा फोटोसंगै समाचार समेत तयार गरेर प्रकाशन गराउँदछन् ।

उनी बिगत ८ बर्षदेखि तत्कालिन विकास खवरपत्रिका साप्ताहिक, थाहा टाईम्स अनलाईन संगै हाल पालिका प्रेस अनलाईनमा समाचार लेख्नुका साथै फोटो पत्रकारिता गर्छन् । विष्ट राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य समेत हुन् । विष्टले आफुले खिचेको फोटोहरु उनले आफ्नो फेसबुकक पेजबाट परिचय र विशेषता सहित सार्वजनिक गर्दछन् भने रुटिन अफ नेपाल बन्द जस्तो चर्चित फेसबुक पेजले पनि सार्वजनिक गरिरहेको हुन्छ ।

विष्ट फोटो मात्रै खिच्दैनन्, उनले फोटो खिचेको स्थानको प्रवर्धनका लागि बिभिन्न उपायहरु खोज्छन् । त्यहाँको बिशेषता पत्तालगाई साथीहरुसंग सरसल्लाह गरिहाल्छन् । विष्टलाई थाहा– २ का निरज प्रधान, माधव कार्की, थाहा– ४ का यादवजंग रायमाझी, सुरजकुमार भुजेल लगायतले सल्लाह, साथ र सहयोग गरिहाल्छन् । प्रायजसो गणेशसंगै विभिन्न स्थानको फोटोग्राफी गर्न, भ्रमण गर्न उहाँहरु साथमै हुन्छन् ।
१ बर्ष अगाडि थाहा– ७ को उनिउचौरको फोटो खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गरेका विष्टले माधव कार्की, यादवजंग रायमाझीसंगको योजनामा पालुङ–आग्रा पदयात्राको नै तय गरे । थाहा नगरपालिकाको बिकासघर रुपचन्द्र विष्टको शालिक स्थलबाट गोरखनाथ मन्दिर, शंखमुल त्रिवेणी धाम, पाण्डुकेश्वर मन्दिर, पाथीभरा मन्दिर, पालुङगढी, भकारी ढुँगा, केशरी भञ्ज्याङ, उनिउचौर हुँदै डाँडाबास सम्मको करिव १३ किलो मिटरको ट्रेकिङ रुट नै तयार गरे र लगातार ३ हप्ता काठमाण्डौ, हेटौंडका पदयात्रीहरुलाई स्वागत गर्ने कार्यक्रम नै बनाए र सफल पदयात्रा समेत गराए । उक्त पदयात्रामा करिव ३ सय भन्दा बढी पदयात्रीहरु सहभागी भएका थिए ।

आफ्नै व्यक्तिगत खर्चमा स्वतः स्फूर्त थाहा नगरको पहिचान, विभिन्न स्थानहरुको पर्यटन प्रवर्धनमा तल्लिन युवा विष्ट फुर्सद हुनेबित्तिकै क्यामेरा बोकेर निस्किहाल्छन् । गणेश बिष्टले खिचेका थाहा नगरका पर्यटकीय स्थलहरुको फोटोहरु फरक सोचले प्रकाशन गरेको “तस्बिरमा थाहा” र थाहा नगरपालिकाले प्रकाशन गरेको “गन्तब्य थाहा नगरपालिका” नामक पुस्तक र बिभिन्न संघ संसथले प्रकाशन गर्ने क्यालेण्डरहरुमा छापिएको छ ।

उनको फोटोहरु हेल्प एज ईन्टरनेशनलले समेत उत्कृष्ट फोटोहरुको सूचीमा राखेर सम्मान गरेको छ भने उनका फोटोहरु उत्कृष्ट फोटोहरुको सूचीमा परेको कारण पालुङ जेसीजले समेत सम्मान गरेको छ । मानिसका विभिन्न नशा मध्ये प्रकृतिको सामिप्यतामा हराउने पनि शोख हुन्छ । मान्छेहरु आफ्नो रहर र शोख पुरा गर्न विभिन्न क्षेत्रका, प्राकृतिक स्थलहरुको भ्रमण गरिरहेका हुन्छन् । थाहा नगर आफैमा सुन्दर छ । यही सौन्दर्यतालाई देश बिदेशमा ब्यक्तिगत रुपमा प्रचारप्रसार गर्न विष्ट निरन्तर लागिरहेका छन् ।

थाहा नगरको पर्यटन प्रवर्धनलाई मध्येनजर गर्दै थाहा नगरपलिकाले फरक सोच संगको समन्वयमा काठमाण्डौंको बसन्तपुर र चितवनको पर्सा खैरहनी महेत्सवको समयमा गणेश बिष्टले खिचेका तस्विरहरुको प्रदर्शनीको समेत आयोजना गरेको थियो । २०५२ मा जन्मेका विष्ट फुर्सद हुने बित्तिकै थाहा नगरलाई कसरी पर्यटकीय हिसाबले परिचित गराउन सकिन्छ भनेर सोच्दै गर्दा हालसम्म आफ्नो जीवनका बारेमा सोच्नै नभ्याएको बताउछन् ।

हालै नेपाल फोटो पत्रकार समूहले काठमाण्डौमा आयोजना गरेको ‘तस्वीरमा बालबालिका’ र ‘तस्वीरमा जेष्ठ नागरिक’ फोटो प्रदर्शनीमा समेत विष्टले खिचेका फोटोहरु समावेश गरिएको थियो भने ‘तस्बिरमा जेष्ठ नागरिक’ फोटो प्रदर्शनी कार्यक्रमको त कार्यक्रम संयोजक नै उनी नै थिए । विष्ट स्थानीय संघसंस्थामार्फत् सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन् । उनी पालुङ जेसीजको सदस्य, लियो क्लब अफ पिस थाहाका पूर्व अध्यक्ष, गोरखनाथ मन्दिर संरक्षण समितिका सदस्य, नेपाल रेडक्रस सोसाईटीका आजीवन सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु