एमाले र राप्रपाको अवरोधले वाग्मती प्रदेशसभाको बैठक स्थगित

बाइलाइन नेपाल
१२ असार २०८०, मंगलवार २१:०४

वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको बजेट विभेदकारी भएको भन्दै एमालेले अवरोध जनाएपछि २ घण्टाका लागि स्थगित भएको सदन पुनः सूचना टाँसेर स्थगित भएको हो ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अगाडि कार्यव्यवस्था तथा परामर्श समितिमा सहमति नजुटेपछि अपराह्न ५ बजेमात्र बैठक बसेको थियो । उक्त बैठकमा एमालेले अवरोध गरेको थियो । ६ बजेका लागि आह्वान गरिएको बैठक सञ्चालन नहुने अवस्था भएपछि प्रदेशसभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो ।

बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकको अवरोध हटाउन सभामुख भुवनकुमार पाठकले पहल गर्दासमेत दलहरुबीच सहमति जुट्न नसकेका कारण बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघिको प्रदेशसभा बैठक सभामुख पाठकले सञ्चालन गरेसँगै एमाले संसदीय दलका नेता जग्गनाथ थपलियाले विशेष समय लिएर आफ्नो भनाइ राखेका थिए । उनले प्रतिपक्षीले दिएको सुझाव बजेटमा नसमेटिएको, मुख्यमन्त्री र मन्त्रीमुखी बजेट ल्याएको आरोप लगाएका थिए । उनको सदनमा सम्बोधन सकिएसँगै एमाले सांसदले उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको थियो । बजेट सार्वजनिक भएसँगै प्रदेशसभाको बैठक ११ दिनका लागि स्थगित गरिएको थियो ।

बजेटका विषयमा सत्तारुढ दलका सांसदसमेत रुष्ट रहेका छन् । उनीहरुले बजेटमा टुक्रे योजना धेरै भएको र नागरिकको तत्कालीन समस्या हल नहुने किसिमको भएको भन्दै विरोध गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*