प्याज बोकेको ट्रकमा डेढ करोडको कपडा

बाइलाइन नेपाल
३ असार २०८०, आईतवार २१:२६

मधेश प्रदेशबाट बागमती प्रदेश प्रवेश गर्ने हेटौँडाको चुरियामाई प्रमुख नाकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलि गरेर ल्याइएको कपडा सहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरकी इन्चार्ज वरिष्ठ प्रहरी निरीक्षक मञ्जु कुमारी रानाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आइतबार प्याज लोड भएको भारतीय ट्रकबाट ९० बोरा अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्रक चालक भारत पञ्जाब राज्य लोदियान जिल्ला ग्राम रसलपुर वडा नं.७ बस्ने ३३ वर्षीय रन्जौद सिंह र सह–चालक बिहार राज्य मोजफरपुर जिल्ला ग्राम माहामाद बस्ने २६ वर्षीय सुधिर मुकार सहनी रहेका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ०६ जिई ५०५३ नम्बरको भारतीय ट्रकलाई प्रहरीले आइतबार साँझ हेटौँडा–१५ स्थित रातमाटे चेकपोष्टमा रोकेर चेकजाँच गरेको थियो।

उक्त ट्रकबाट पाइन्टको १२ हजार ८९६ मिटर कपडा, सुटको कपडा ६० प्याकेट, सर्टको कपडा ६ हजार ७०५ मिटर, कुर्थाको कपडा १०३ सेट र कोरा कपडा १ हजार ४९७ मिटर वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।

कार्कीका अनुसार उक्त कपडा १ करोड ५५ लाख ६९७ बराबरको रहेको छ। ट्रकमा रहेको ८४ क्वीन्टल प्याजको मूल्य २ लाख ५२ हजार रहेको उनले बताए।

ट्रक, प्याज, अवैध कपडा र ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएर मुख्य कपडा धनीको खोजी कार्य भइरहेको प्रवक्ता कार्कीले बताए। आवश्यक कारबाहीका लागि बरामद सामानलाई भन्सार कार्यालय काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए। कपडा धनीलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गर्ने उनको भनाई छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*