एमाले बैठकले गरेका तीन निर्णय

नेकपा (एमाले)ले वर्षैभरि केन्द्रीय सदस्यहरूलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने गरी पाँचौं केन्द्रीय कमिटीको बैठक सकेको छ।एमालेले यसअघि फागुनको पहिलो हप्तादेखि वैशाखसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो।
पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन अहिले खटिएकै भूगोलमा पठाउन लागिएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।
‘मिसन ग्रासरूट अभियानले संगठनलाई क्रियाशील बनाउन भूमिका खेलेको र फरक जिल्लामा गएर काम गर्दा प्रभावकारिता बढेको अनुभूतिका साथ थप एक वर्ष त्यसरी अर्को भूगोलमा खटाउन लागिएको हो,’ उनले भने।
छोराछोरी अभियान
बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष सुनाएका थिए। कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए।
त्यसैलाई लक्षित गरेर एमालेले छोराछोरी अभियान सुरू गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
‘पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको हो,’ उनले भने।
यो अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता र सदस्यका छोराछोरीलाई पार्टीमा जोड्ने, त्यसका लागि राजनीतिक, वैचारिक प्रशिक्षण चलाइने रिजालले जानकारी दिए।
मध्यपहाड र हुलाकी राजमार्ग केन्द्रित अभियान
एमाले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने भएको छ। यसअघि एमालेले २०७३ फागुनमा मेची-महाकाली अभियान चलाएको थियो। यस अभियान पनि त्यस्तै प्रकृतिको हुने रिजालको भनाइ छ।
त्यस्तै एमालेले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने लक्ष्य लिएको छ। ‘हामीले विगतमा पनि यस्ता अभियान गर्दै आएका छौं। यसपटक मध्यपहाडी र हुलाकी राजमार्गमा केन्द्रित हुनेछ, यसको विस्तृत कार्ययोजना पार्टीले बनाउने छ,’ उनले भने।
२०८० अधिवेशनको वर्ष
एमालेले २०८० साललाई अधिवेशनको वर्ष बनाउने पनि निर्णय गरेको छ। एमालेका ८ लाख पार्टी सदस्यमध्ये आधा मात्रै नवीकरण भएको प्रतिवेदन आएको छ। आगामी असार मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न बैठकले निर्देशन दिएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले जानकारी दिए। भदौभित्र प्रदेशको अधिवेशन सक्नेगरी कार्ययोजना बनेको पनि उनले जानकारी दिए।
त्यस्तै चैतसम्म जिल्ला र पालिका तहको अधिवेशन सक्न पनि निर्देशन दिइएको गुरूङको भनाइ छ। अहिले औसतमा वडाको जनसंख्याको दुई प्रतिशत पार्टी सदस्य रहेकामा त्यसलाई बढाएर तीन प्रतिशत पुर्याउने लक्ष्य राखिएको पनि उनले जानकारी दिए।
मिसन ग्रासरूटले के गर्यो ?
केन्द्रीय कमिटी बैठकले मिसन ग्रासरूट अभियान पार्टी जीवनको सुदृढीकरणका लागि उपयोगी भएको निष्कर्ष निकालेको गुरूङको भनाइ छ।
अभियानका क्रममा ८७५ पालिकाको बैठक राखिएको एमालेले बताएको छ। त्यस्तै ५ हजार ५७४ वडाको बैठक राखिएको छ। अयिभानकै क्रममा १ लाख १९ हजार ९५ नयाँ सदस्यताको आवेदन आएको र १३ हजार २३८ जनाले पार्टी प्रवेश गरेको पनि एमालेले जानकारी दिएको छ।