आकांक्षा पूरा नहुँदा जनताले नयाँ विकल्प रोजेः बाबुराम भट्टराई

हेटौंडा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पुराना दलहरूले ठूला राजनीतिक परिवर्तन गरे पनि जनताको आकांक्षा पूरा गर्न नसक्दा नयाँ विकल्पहरू अगाडि आएका बताएका छन्।
आइतबार हेटौँडामा पत्रकारहरूसँगको भेटमा भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि त्यसको जगमा उभिएर जनतालाई सुशासन, विकास र समृद्धि दिनुपर्नेमा प्रमुख दलहरू त्यसमा चुकेको बताए। ‘राजनीतिक परिवर्तनपछि जनतामा सुशासन, विकास र समृद्धिको अपेक्षा थियो। तर, तदनुरूप ठूला दलहरू जान नसक्दा जनतामा एक प्रकारको असन्तुष्टि छाएको छ। जुन हामीले पछिल्लो समय देखिरहेका छौँ,’ उनले भने।
पछिल्लो चरणमा जनताको अवस्था परिवर्तन गर्न भएको ढिलाइको कारण बढेको विकृति र विसंगतिले नयाँ शक्तिहरू देखिएको भए पनि ती खाली ठाउँमा भरिन आइपुगेका प्रतिगामी र गलत उद्देश्य बोकेका शक्तिहरूले भएको उनको आरोप छ। भ्रम छर्ने र जनतालाई गलत दिशामा मोड्ने त्यस्ता प्रवृत्तिले देशमा खतरा बढ्ने भट्टराईले दाबी गरे।
फरक प्रसंगमा पूर्वप्रधानमन्त्री भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको सही ढंगबाट छानबिन हुनुपर्ने बताए। विभिन्न समयमा देशमा यस्ता थुप्रै प्रकरणहरू घटेका बताउँदै उनले सबैको उचित ढंगबाट छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए।