झरनाको ३० औँ वार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित

बाइलाइन नेपाल
१० फाल्गुन २०७९, बुधबार १६:४१

झरना साहित्यिक परिवार मकवानपुरको ३० औँ वार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित दुइदिने बकैया कला–साहित्य महोत्सव मङ्गलबार जनक माध्यमिक विद्यालय भीरकोटमा  भएको छ ।

बकैया गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आयोजित महोत्सवको दोस्रो दिनका कार्यक्रमहरूमा स्रष्टा सम्मान, बकैया तथा बकैया बाहिरका विद्यार्थीहरूको रचना वाचन, चित्रकला प्रदर्शनी, जिल्लाभित्र तथा जिल्लाबाहिर छानिएका सर्जकहरूका गजल, कविता तथा मुक्तक वाचन, झरना पत्रिका विमोचन, समय सान्दर्भिक बहस तथा विविध लोक सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले जानकारी गराउनुभयो ।

सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रा. डा. जीवेन्द्र देव गिरीलाई २११२१/- राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान समर्पित गरिएको छ । यसैगरी मकवानपुरे पत्रकार भानुभक्त आचार्यलाई ११,१११/- राशि सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार समर्पण गरिएको छ ।

यस वर्षको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट सिन्धुलीकी स्रस्टा अमला अधिकारी सम्मानित हुनुभएको छ । त्यस्तै सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट मकवापुरे स्रष्टा अनिता न्यौपाने सम्मानित हुनुभएको छ ।

मकवापुर जिल्लामा साहित्य सेवा गरेबापत प्रदान गरिने सञ्जीवनी बुटी साहित्य सेवा पुरस्कार यस वर्ष बकैयाका कृष्णप्रसाद चौलागाईलाई प्रदान गरिएको छ । यसैगरी यस वर्षको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मानित गरिएको छ । यी सम्मानहरूको राशि जनही ७७७७/- रहेको छ ।

यसैगरी झरना साहित्यिक परिवार मकवानपुरद्वारा हरेक वर्ष प्रदान गरिने ५५५५/- राशि सहितको झरना बकैया नवप्रतिभा सम्मान यस वर्ष बकैयाकी उदीयमान कवि स्वस्तिका दाहाललाई प्रदान गरिएको छ । संस्थाद्वारा नै प्रदान गरिने झरना-बकैया उत्कृष्ट विद्यालय सम्मान यस वर्ष पनि महेन्द्र मावि, छतिवनलाई प्रदान गरिएको छ । संस्थाद्वारा नै प्रदान गरिने झरना-बकैया सिर्जनशील शिक्षक सम्मान यस वर्ष प्रभात मावि, श्रीपुरका शिक्षक कुमार स्याङ्बोलाई प्रदान गरिएको छ ।

महोत्सवमा बहसको सत्र अन्तर्गत ‘सिर्जनात्मक सिकाइः शैक्षिक गुणस्तरको आधार’ विषयमा झसापका निवर्तमान अध्यक्ष दीपक गौतमको सहजीकरणमा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, बकैया पालिका का शिक्षा शाखा प्रमुख आइतराम तामाङ, जनक माविकी शिक्षिका अनिता दाहाल तथा महेन्द्र माविका सहायक प्रधानाध्यापक उद्धवप्रसाद सापकोटाले बहसमा भाग लिनुभएको थियो ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लामिछानेले स्थानीय स्तरमा देखिएका विविध खालका समस्याहरूको समाधान खोज्नका लागि पनि साहित्यिक गतिविधिहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले यस्ता कार्यक्रमहरुबाट गाउँपालिकाको गरिमा बढ्नुका साथै स्थानीय प्रतिभाहरूको विकास हुँदै जाने बताउनुभयो ।

महोत्सवमा बकैया-७ का वडाध्यक्ष मानबहादुर सिंतान, जनक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर थिङ लामा विद्यालयका प्रधानाध्यापक माधव बानियाँ, झरना साहित्यिक परिवारका संरक्षकद्वय रमेशमोहन अधिकारी र जनार्दन खनाल, सल्लाहकार नुरप्रसाद गौतम, जनक माविका पूर्व प्रधानाध्यापकद्वय भरत प्रसाद सापकोटा र धर्म प्रसाद दाहाल, जिल्लाका विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, स्थानीय विद्यालयहरूका शिक्षक, विद्यार्थी तथा ५०० भन्दा बढीको सङ्ख्यामा संस्थाकी उपाध्यक्ष गायत्री रुपाखेती, सचिव मसान उपासक, कोषाध्यक्ष कृष्ण घतानी तथा सदस्यद्वय विश्व राई र अमृता लामिछाने लगायतले विभिन्न सेसनरूमा फरक-फरक भूमिका निर्वाह गर्नुभएको थियो । महोत्सवको दोस्रो दिनको अध्यक्षता संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*