झरनाको महोत्सवमा १० स्रष्टालाई सम्मानित गरिने

बाइलाइन नेपाल
२ फाल्गुन २०७९, मंगलवार ०७:२९

बकैया कला–साहित्य महोत्सव २०७९ तथा ३० औँ वार्षिकोत्सवको अवसरमा झरना साहित्यिक परिवारले स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । फागुन ८ र ९ गते सञ्चालन हुने बकैया कला–साहित्य महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुुर्याउनेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

महोत्सवमा २०७९ सालको होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट डा. जीवेन्द्र देव गिरीलाई प्रदान गरिने भएको छ । उनलाई साहित्यमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो ।

साहित्यको मुक्तक विधातर्फ शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट नगद १५ हजार ५ सय ५५ सहित सरु भक्तलाई सम्मान गरिने भएको छ । तर उक्त सम्मान झरनाको विशेष कार्यक्रममा प्रदान गरिने सचिव मसान उपासकले जानकारी दिए ।

साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत नवराज शर्मालाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । उक्त पुरस्कार १५ हजार ५ सय ५५ राशीको रहेको झरना साहित्यिक परिवारले जनाएको छ ।

संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत प्रधानसम्पादक आचार्यलाई नगद ११ हजार १ सय ११ सहित गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो ।

खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्ण प्रसाद चौँलागाई, खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मान गरिने भएको छ । उनीहरुलाई नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहाललाई प्रदान गरिने भएको छ । बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा झरना–महेन्द्र वाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिने झरना साहित्यिक परिवारले जनाएको छ ।

महोत्सवमा पहिलो दिन रचना वाचन, चित्रकला प्रतियोगिता र बकैया बिशेष रचना वाचन गरिनेछ । त्यस्तै दोस्रो नवपुस्ता केन्द्रित रचना वाचन,बहसःचेतनाको विकासमा स्थानीय तहको भूमिका, खुल्ला कविता वाचन, गजल मुक्तक वाचनरगायन, सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम तय भएको साहित्यिक परिवारले जनाएको छ ।

झरनाका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा , उपाध्यक्ष चीरञ्जीवी लामिछाने, संरक्षक जर्नाजन खनाल निवर्तमान अध्यक्ष दीपक गौतमलगायत पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*