हेटौंडाको नवोदयमा बाल साहित्य महोत्सव सुरु

बाइलाइन नेपाल
२७ माघ २०७९, शुक्रबार १६:०४

हेटौंडा । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन माविमा आज शुक्रबारबाट हेटौंडामा बाल साहित्य महोत्सव सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेण्ट र काठमाडौं पब्लिकेसनले बाल साहित्य महोत्सवको आयोजनामा गरेका हुन् ।

विद्यार्थीमा पठन संस्कृतिको विकासको उद्देश्य सहित दुईदिन सम्म सञ्चालन हुने महोत्सवमा शुक्रबार १२ वटा विविध विषयमा कार्यशाला सञ्चालन भएको महोत्सवका संयोजक सीएम रिमालले जानकारी दिए ।

महोत्सवमा विभिन्न सेसन सहित प्यानल डिस्कसन समेत हुनेछ । शनिबारसम्म सञ्चालन हुने महोत्सवमा भारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहनेछ । भारत र पाकिस्तानमा बाल साहित्यको प्रवद्र्धनमा भएका अभ्यास र नेपालको अभ्यासबीच तुलनात्मक अध्ययन तथा अन्तरक्रियाका लागि छिमेकी मुलुबाट समेत सहभागी गराउन खोजिएको नवोदय शिशु सदनका निर्देशक दीपेश जोशीले बताए ।

कला, साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउनुका साथै नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जना गर्न महोत्सवलाई निरन्तरता दिइएको जोशीले बताए ।

महोत्सवमा तीन हजार पाँच सय बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थिती रहने कार्यक्रमका संयोजक सीएम रिमालले जानकारी दिए । नवोदयले यसअघि दुई पटक बाल साहित्य महोत्सवको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु