हेटौंडा बाल कला–साहित्य महोत्सवको तयारी अन्तिम चरणमा

हेटौंडा । फरक शैक्षिक वातावरणमा अतिरिक्त क्रियाकलापसँगै शिक्षा प्रदान गर्दै आएको मकवानपुुरकै अग्रणी विद्यालय नवोदय शिशुु सदन माविले यस वर्षपनि हेटौंडा बाल–साहित्य महोत्सवको आयोजना गरेको छ । हेटौंडा उपमहानगपालिका–४ मा रहेको विद्यालयले माघको २७ र २८ गते आयोजना गर्ने महोत्सवको तयारी तीब्र रुपमा भइरहेको जनाएको छ ।
तेस्रो संस्करणको बाल कला–साहित्य महोत्सवमा मकवानपुरमा रहेका साहित्यकारहरुसँगै भारत र पाकिस्तानसहित नेपालका चर्चित लेखक तथा कलाकारको सहभागिता रहने जनाइएको छ । देश विदेशका लेखक तथा कलाकारसँग महोत्सवमा विद्यार्थीहरुले प्रत्यक्ष संवाद गर्न पाउने छन् ।
महोत्सवलाई सफल बनाउन आवश्यक तयारी र व्यवस्थापनमा जुुटिरहेको नवोदय शिशु सदनका निर्देशक दीपेश जोशीले जानकारी दिए । उनले महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको बताए । उनले साहित्यकार, पत्रकार र अभिभावकलाई महोत्सवमा सहभागिताका लागि समेत आग्रह गरेका छन् ।
विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने मूल उद्देश्यले प्रत्येक वर्ष महोत्सव आयोजना गरिएको जोशीले जानकारी दिए । नेपालसहित अन्य देशमा बालसाहित्यको अवस्था, पठन संस्कृतिका बारेमा बहस र ज्ञान आदानप्रदानका लागि पनि अन्य देशका साहित्यकार, कलाकार र शिक्षा क्षेत्रमा कार्यरतहरुलाई महोत्सवमा आमन्त्रण गरिएको उनले बताए ।
महोत्सवमा भारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको सहभागिता रहने बताइएको छ । भारतीय लेखक मिश्र वृत्तचित्र निर्देशक समेत हुन् भने पाकिस्तानी हुसेन कलाकार तथा शिक्षाविद् समेत रहेका छन् ।
महोत्सवमा नेपालबाट कलाकार मदनकृष्ण श्रेष्ठ, नाटककार अशेष मल्ल, बाल साहित्यकार अनुुराधालगायतको सहमभागिता रहने जनाइएको छ । साथमा मकवानपुुरका साहित्यकाहरुको पनि सहभागिता रहनेछ ।
नवोदय शिशु सदन मावि परिसरमा आयोजना हुने महोत्सवको पहिलो दिन १२ वटा विविध विषयमा फरक फरक व्यक्तित्वले सहजीकरण गर्ने गरी कार्यशाला हुने महोत्सवका संयोजक सिएम रिमालले जानकारी दिए । करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा विद्यार्थीले कला प्रस्तुत गर्नेछन् ।
दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न सेसन रहेका छन् । महोत्सवमा तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकसहित सरोकारवालाको सहभागिता रहने बताइएको छ ।
तेस्रो संस्करणको बाल कला–साहित्य महोत्सव हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसन्सको आयोजनामा हुन लागेको हो ।