मुख्यमन्त्री जम्मकट्टेलको पहिलो कदम मन्त्रालय संख्या घटाउन कार्यदल गठन

बाइलाइन नेपाल
२६ पुष २०७९, मंगलवार १२:०८
फाइल तस्वीर

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा पदभार ग्रहण गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले आज पदभार ग्रहण गरेका हुुन् ।

पदभार ग्रहण गरेलगतै उनले प्रदेशमा मन्त्रालयको सख्या घटाउन कार्यदल गठन गरेका छन् । मन्त्रालयको संख्या प्रदेशमा धेरै रहेको भन्दैउनले घटाउनका लागि कार्यदल गठन गर्ने निर्णय समेत गरेका हुन् । पाँच सदस्यीय कार्यदल बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको छ ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका बीचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । उनले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने जानकारी दिए । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।

१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेस गर्ने र जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्‍याउने मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए ।
कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् । बागमतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा आठबाट मन्त्रालय संख्या १४ पुर्‍याइएको थियो । जम्बो मन्त्रिपरिषद् बनाइएपछि पाण्डे नेतृत्वको गठबन्धन सरकारको व्यापक आलोचना भएको थियो ।

यसैगरी एमालेका तर्फबाट मन्त्री बन्नु भएका जगन्नाथ थपलिया र राप्रपाका तर्फबाट मन्त्री बन्नु भएका बिना बिभागिय मन्त्री उद्धव थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु