ओलीको झुठ र भ्रमको राजनीति चुनावपछि सकिन्छः बानियाँ

बाइलाइन नेपाल
६ कार्तिक २०७९, आईतवार १३:३२

हेटौंडा–नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ ख मा बाम लोकतान्त्रिक  गठबन्धनका तर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाकामा आइतबार भएको गठबन्धन दलले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बानियाँले एमाले नेता र नीति ठिक नभएको पार्टी भएको भन्दै यस्तोले मुलुकलाई निकास दिन नसक्ने दावी गरे ।

वर्तमान व्यवस्थाई ढाल्नको लागि केपी ओलीले दुइ दुइ पटकसम्म संसद विघटन गरेको स्मरण गर्दै बानियाँले अब जनताले तीनलाई विश्वास गर्न नसक्ने बताए । ‘ओलीको पार्टीले जितेमा मुलुकको विकास हुन नसक्ने देखेपछि जनताको अवस्था परिवर्तन गर्न बामलोकतान्त्रिक  गठबन्धन बनेको छ, यो गठबन्धनदेखि ओली अत्तालिएका छन् ।’

बानियाँले भने–‘गठबन्धनदेखि आत्तिएका ओलीले जनता मार्ने कमल थापा र देश टुक्र्याउन लागिपर्ने सिके राउत जस्ताको पार्टीसंग मिलेर लठबन्धन गरिरहेका छन् । केपी ओली झुट र भ्रमको खेती गर्न महानायक हुन् ।’ स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले पनि केपी ओली नेतृत्वको एमालेको चर्को आलोचना गरेका थिए । यसअघि एमाले नेतृत्वको सरकार हुँदा जनताले विकासको अनुभूति नै गर्न नपाएको भन्दै अब गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । आफू यसअघि सांसद हुँदा पनि धेरै कामहरु गरिएको स्मरण गराए ।

माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ कबाट प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तनले कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले साढे तीन वर्षसम्म गर्न नसकेको काम गठबन्धन नेतृत्वको सरकारले एक वर्षकै अवधिमा गरेर देखाएको बताइन् । आफू प्रदेशको सामाजिक विकास मन्त्री भएपछि छोटो अवधिमै आफ्नो क्षेत्रमा प्रसस्तै बजेट विनियोजन गरिएको उनले बताइन् ।

नेपाली कांग्रेसका इन्द्रसरोबर गाउँपालिका गाउँपालिका सभापति विश्वलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पालिका अध्यक्ष कुनसाङ लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि गठबन्धन दलले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*