बकैयामा प्रज्ञा प्रतिष्ठान: गौतम संयोजक, उपासक सदस्य सचिव

हेटौंडा । बागमती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरको बकैया गाउँपालिकामा दीपक गौतमको संयोजकत्वमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ ।
बकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा गौतमको संयोजकत्वमा सर्वसम्मत ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन भएको हो । मकवानपुरका १० वटा पालिका मध्ये स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने बकैया पहिलो पालिका बनेको छ ।
बकैया गाउँपालिकाको २०७८ चैत १० गते बसेको कार्यपालिका बैठकबाट स्वीकृत कार्यविधिअनुसार ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ दीपक गौतमको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसका सदस्यहरुमा बिश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, कृष्ण घतानी, सन्तराम राई, कुमार स्याङ्वो, शुभलक्ष्मि प्रभा चयन भएका छन् । प्रतिष्ठानको सदस्य सचिवमा मसान उपासकलाई चयन गरेको छ ।
तदर्थ समितिका संयोजक गौतमले कानुनी प्रक्रिया पूरा गरी प्रतिष्ठानलाई ६ महिनाभित्र पूर्णता दिइने प्रतिबद्धता जनाए । पालिकामा साहित्यिक क्रियाकलापको नेतृत्व झरना साहित्यिक परिवारले नै गरेकोले आगामी दिनमा पनि झरनासँगै सहकार्य गरेर पालिकाले प्रतिष्ठान गठन गरेको गौतमले बताए।
यता वकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाले कला, भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा निमेष निखिल, आरसी रिजाल, राजकुमार लामिछाने, श्रीराम अधिकारी, सम्प्रस पौडेल, कुवेर पराजुली, वकैया गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, वकैया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
झरनाको अध्यक्षमा विश्वनाथ सञ्जेल
यस्तै झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल निर्वाचित भएका छन् । बकैयाको महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।
झरनाको उपाध्यक्षमा चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेती, सचिवमा मसान उपासक, कोषाध्यक्षमा कृष्ण घतानी, सहसचिवमा सन्तराम राई चयन भएका छन् । यस्तै सदस्यमा विश्व राई, शुभलक्ष्मी प्रभा, देवराज लामिछाने, निलहरि ढुंगेल, अमृता लामिछाने, प्रेम बहादुर भोम्जन, विजय दोङ चयन भए ।