हेटौंडामा साहित्यकारले सम्झिए भैरव अर्याललाई

हेटौंडा । वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको ८६औं जन्मजयन्तीका अवसरमा आज हेटौंडाका साहित्यकारले उनको प्रतिमामा माल्यार्पण कार्यक्रम गरेका छन् ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । हेटौंडा–५ मा अवस्थित पुुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको अर्यालको प्रतिमामा माल्यार्पण गरेर उनको सम्झना गरिएको छ ।
कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालले माल्यार्पण गर्दै अर्यालको विषयमा बोल्नुभएको थियो । पुष्पलाल स्मृति पुस्तकालय परिसरमा २०६३ सालमा निर्माण गरिएको प्रतिमा मोरङका नविन सुवेदीले बनाएको र सो प्रतिमा काठमाडौंपछि हेटौंडामा रखिएको उनले जानकारी दिए ।
कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने, रमेश अधिकारी, यमनदेव उत्प्रेरक, किशन पौडेल, प्रलेस केन्द्रीय सदस्य मसान उपासक, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, मातृभूमि साहित्य समाज मकवानपुर अध्यक्ष माधव पोखरेललगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।
संगम र सिस्नुपानीले प्रदान गर्ने भैरव अर्याल सम्मानसहितका साहित्यक कार्यक्रम आगामी मंसिरमा आयोजना गर्ने कार्यक्रम रहेको संगमकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण संगमका सचिव डीबी बर्तौलाले गरेका थिए ।