सत्ता र कान्छा

सत्ता कायर छ
र क्रुर पनि छ ।
कोपिलाहरू निमोठ्नुलाई
आमाका आँखाबाट महाकाली बगाउनुलाई
बाबुको शिरबाट सगरमाथा छेदन गर्नुलाई
सत्ता विकासको नियम भन्छ
डार्बिनको सिद्धान्त सम्झन्छ ।
ढुङ्गाका हृदय भएकाहरू
असुरका भक्त बन्छन्
उनीहरूलाई सधैँ प्रिय लाग्छ
कोपिलाहरूको आलो रगत
सत्ता ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद भन्छ
मार्क्सवाद सम्झन्छ ।
अरु मर्दा मात्र
आफ्नो जीवन देख्नेहरू
रमेका जस्ता मात्र देखिन्छन्
रम्न कहाँ सक्छन् र
बाँचेका जस्ता मात्र देखिन्छन्
बाँच्न कहाँ सक्छन् र ?
ठ्याक्कै ! मान्छेजस्तै देखिने
भ्रम मान्छेहरू
राक्षसका हातहरू बोकेर
आउँदा रहेछन् सत्तामा
कायर आगोहरू बोकेर
पस्दा रहेछन् मानव बस्तीहरूमा
उदण्ड हृदय बोकेर
छिर्दा रहेछन् फुलबारीहरूमा
सत्ता यसलाई क्रान्ति भन्छ
परिवर्तनको नियम सम्झन्छ ।
हो !
यही कुराबाट कान्छा
के तिमी सचेत छौ ?
के हामी सचेत छौँ ?
नयाँ दानवसँग
नयाँ कंससँग ।
सत्ता अजङ्गको छ
स्वयम् शक्ति सम्झन्छ
सर्वेसर्वा भन्छ
तिम्रो र उसको दुरी लामो छ
हाम्रो र उसको दुरी लामो छ ।
कान्छा १
सत्ता हाम्रो टाउको छोएर
भस्मासुर जस्तै कसम खान्छ
र होलीवाइन खान्छ ।
जस्तापाता खान्छ
सुन खान्छ
वाइडबडी खान्छ
हाम्रो मुटु खान्छ
माटो खान्छ ।
कान्छा तिमीले त
आफ्नै पसिना खाइरहेका छौ ।
तिमी पराक्रमी छौ
र मायालु पनि छौ
तर सत्ता कायर छ
र क्रुर पनि छ ।
कान्छा तिमीसँग पनि
प्रेमको सत्ता छ ।