सङ्गमको आयोजनामा हेटौँडामा खुल्ला कविता प्रतियोगिता

बाइलाइन नेपाल
११ भाद्र २०७९, शनिबार १८:४२

हेटौँडा । मकवानपुरको अग्रणी साहित्यक संस्था साहित्य संगम मकवानपुरले मोती जयन्ती तथा कुशे औँसीको अवसरमा आज खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । सङ्गमको ३२२ औं साहित्य सन्ध्याको समेत अवसरमा बा शिर्षकमा कविता लेखन प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा तीन उत्कृष्ट र दुई प्रोत्साहन कविता छनौट भएका छन् । प्रतियोगितामा स्वस्तिका दाहाल, समर्पण न्यौपाने, एलिसा पराजुलीको कविता उत्कृष्ट भएको थियो । तिनै जना कविले जनही २ हजार ५ सय नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी, प्रतियोगितामा उषाकिरण अधिकारी र गौरी कँडेलको कवितालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । उनिहरुलाई जनही नगद १ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

बुढ्यौली साहित्य समाज मकवानपुरको प्रायोजनमा भएको प्रतियोगितामा ३४ कविता प्राप्त भएका थिए । जसमध्ये २८ कविता वाचन गरिएका थिए । प्रतियोगिताको निर्णायकमा घनश्याम घिमिरे, छवि अनित्य, विश्वनाथ सञ्जेल रहेका थिए । निर्णायक संयोजक समेत रहेका घिमिरेले कविताले लाक्षणिक चेतना, सिर्जनात्मक क्षमता, व्यङ्ग्यात्मक र प्रतिकात्मक शब्द र सो अनुसारको भाव बोकेको हुनुपर्छ भन्दै केवल चिठी लेखेजस्तो रचना कविता हुन नसक्ने बताए ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा बुढ्यौली साहित्य समाज मकवानपुरका उपाध्यक्ष रामचन्द्र आचार्य ‘फुर्सती’ को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिल, सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, हरि पौडेल, देवराज खरेल, मुना अर्याल, झरना साहित्यका अध्यक्ष दीपक गौतम, देवराज तिवारी, यश लामा, एसके निधनलगायका सर्जकहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*