बा

प्रसिद्धिका लम्साल
११ भाद्र २०७९, शनिबार ०६:५५

नौ महिना आमाको कोखमा बिताएपनि
बोल्न सुरू गरेको पहिलो दिन
निकालेकि हुँ मुखबाट( बा

दृढ अनि अटल तिम्रो इच्छाशक्ति
समुद्र सरी गहिरो अनि
छाल जस्तो छचल्किरहने तिम्रो प्रेमले
मलाई टुकुटुकु गर्दै हिड्न सिकायो
अप्ठ्यारो बाटाहरूमा

तिम्रो कमिजका पसिनाले मलाई
दुख्न बुझ्ने बनायो
तिम्रो निधारका मुजाहरूले मलाई
दुख खेप्न सिकायो
चाउरिदै गएका तिम्रा हात गोडाहरूले
मलाई दौड्ने बनायो

म अलि ठूलि भएँ
घरजम गरेर खाएको हेर्ने सपना छ भन्दै
गर्दा मैले अटेर गरेर रोजे सपनाको बाटो
म त्यहि तिम्रो सपनालाई पूरा गर्नका लागि
निस्केकी छु एक पसर जिम्मेवारी बोकेर
हाम्रो खुसीको लागि

हरेक दुस्खको बेलामा पनि मुस्कान बोक्ने
तिम्रो अनुहारको झझल्को
मलाई कसो नआउला
कसो याद नगरूॅंला
तिमीले मलाई दिएको असिम माया
आफ्नो जवानीलाई
विलिन बनाई
मेरो संसार सुन्दर बनाइदिने
ति हातहरूलाई कसो नसम्झ्युला म

बा,
मेरा निधारमा बिदाइको अबिर दल्दै गर्दा
तिम्रा हातहरू थुरथुर नकापेका कहाँ हुन र ।

तिमीले पढाएको जिन्दगीको पाठमा
म सक्षम र सबल बन्नु छ
बेहुली बनेर अरूको घर पुग्नु अघि
उठाउनु छ जिम्मेवारीको अग्लो पहाड
र हिड्न सिक्नु छ

तिम्रो संघर्षको क्रममा
उठेका ठेलाहरूलाई सुम्सुमाउनु छ
तिम्रो शरीरबाट झरेका पसिनाको थोपाले
सजाउनु छ मेरो जीवनको रङ
तिमी भोको पेट सुतेर छटपटाएको क्षणलाइ
शान्त पार्नु छ भोजनहरूले
मेरो बाटोको कॉंडा पन्छ्याउन
आफ्नो बाटो अप्ठ्यारो बनाएका तिमीले
सम्याउनु छ त्यहि बाटोलाइ

यो समयको माग भनूॅं या
तिम्रो संघर्षको प्रतिफल
अनकन्टार बाटो हिडेॅंर उज्यालोमा पुग्दै छु म

फेरि पनि
शिखरमा पुगेर, अवश्य आउने छु म
गर्वले फुलेको तिम्रो छाति र
खुशिले चम्केको तिम्रो मुहार हेर्न
कुशे औॅंसीको दिन।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु