आज भानु जयन्ती,मकवानपुरमा पनि मनाईदै

बाइलाइन नेपाल
२९ असार २०७९, बुधबार ०६:५४

२९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ ।

हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

१८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।

यसैबीच आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आज बुधबार मकवानपुरगढी गाउँपालिकामा जनवादी गायक शर्मालाई सम्मान गरिने भएको छ । बासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरको आयोजनामा मकवानपुरगढी गाउँपालिका–३ मा रहेको भानु माविमा बिहान ११ बजे आयोजना हुने साहित्यिक कार्यक्रममा शर्मालाई सम्मान गर्न लागिएको हो ।

जनवादी गायक शर्मालाई बासुदेव रिजाल स्मृति साहित्य सम्मानसहित नगद १५ हजार रुपैयाँ नगद राशी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष आरसी रिजालले जानकारी दिए । यसैगरी प्रतिष्ठानले बासुदेव भानु स्मृति साहित्य सम्मान छन्दकवि ठाकुर शर्मालाई प्रदान गरिने भएको छ । जसको नगद राशी पनि १५ हजार रहेको छ ।

उक्त अवसरमा गाउँपालिका स्तरिय मावि तहका विद्यार्थी बीच कविता प्रतियोगिता पनि आयोजना गरिएको प्रतिष्ठानकी सदस्य अनिता न्यौपानेले जानकारी दिइन् । प्रतिष्ठानले विद्यालयमा आदिकविको प्रतिमा स्थापना गरेर हरेक वर्ष साहित्यक कार्यक्रम आयोजना गर्दै आएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु