दीपेन्द्रकाे ‘के घर के डेरा’मा दयाहाङ, वीपिन, वर्षा र रवीन्द्र

चलचित्र ‘के घर के डेरा’ निर्माणको घोषणा गरिएको छ । कमेडी तथा सोसल ड्रामा चलचित्र ‘के घर के डेरा दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुनेछ । चलचित्रमा दयाहाङ राई, वीपिन कार्की, वर्षा राउत र रवीन्द्र झाको मुख्य भूमिका रहनेछन् ।
कोरोना महामारी अघि यो चलचित्र निर्माणको घोषणा गरिए पनि हाल निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको निर्देशक खनालले जानकारी दिए ।
वैशाख तेस्रो सातादेखि सुरु हुने सिनेमाको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्रै गरिनेछ । निर्देशक खनालले ‘झोले’पछि दयाहाङ, र ‘पशुपति प्रसाद’पछि वीपिनसँग सहकार्य गर्न लागेका हुन् ।
घर भएका र घर नभएका दुवै वर्गको कथामा हास्यरससहति चलचित्र निर्माण हुने निर्देशक खनालको भनाइ छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको चलचित्र आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको छ ।