काँग्रेसले उम्मेदवार छान्दा निष्ठा, योगदान र लगानी नभुलोस्

गोपी अधिकारी
६ चैत्र २०७८, आईतवार २१:३९

नेपाली काँग्रेसले वडा, पालिकादेखि जिल्ल्ला, प्रदेश हुँदै केन्द्रसम्मको नेतृत्व चयन गरेर अब स्थानीय तहको निर्वाचनमा होमिएको छ । कम्युनिष्ट पार्टीसहित अन्य दलमा आएको विभाजनको अहिलेको अवस्थामा निर्वाचनमा होमिएको काँग्रेसलाई यो ठूलो अवसर पनि हो । अन्य दलमा देखिएका समस्या र टुटफुटको अवस्थामा अहिलेको काँग्रेसले सुझबुझपूर्ण रुपमा आफुलाई निर्वाचनमा उर्तान अवसरसँगै आएको चुनौति पनि हो । काँग्रेस नेतृत्व पछिल्लो समय आफ्नो नीति र सिद्धान्तबाट विचलित भएको देखिन्छ । पार्टी नीति, सिद्धान्तबाट सामूहिक रुपमा चल्नुपर्नेमा व्यक्तिवादमा चल्ने अभ्यास मौलाउँदै गएको छ । यो अभ्यास काँग्रेसका लागि ठूलो समस्या बन्ने छ । हामी यो बाटोलाई छाडेर पार्टीलाई नीति, सिद्धान्तमा माथिदेखि तलसम्म हिँड्नु आवश्यक छ । पार्टीमा पछिल्लो समय आकर्षण पनि बढ्दै गएको छ । सबै हिसाबले नेपाली काँग्रसका लागि अहिलेको निर्वाचन अवसर पनि हो । अब काँग्रेसमा एउटै समस्या भनेको उम्मेदवार छनौटमा देखिन्छ ।

काँग्रेस वर्षैदेखि प्रजातन्त्रको पक्षमा उभिएको नेपालको बलियो शक्ति हो । देशलाई समस्या परेको हरेक कालखण्डमा काँग्रेसले नेतृत्व लिएर सुझबुझ ढंगबाट निकास दिएको इतिहार र वर्तमान छ । देशलाई नै न्याय गर्न सक्ने सबैलाई आफ्नो नेतृत्वमा ल्याउन सक्ने काँग्रेसको आन्तरिक लोकतन्त्रलाई पनि सबैले हेरिरहेका छन् । नेता तथा आमकार्यकर्तालाई पनि यसपटकको स्थानीय तहको निर्वाचनमा निष्ठा, इमान्दारिता बोकेका काँग्रेसका पुराना नेतृत्वलाई काँग्रेसले न्याय गर्छ कि गर्दैन् भन्ने कुरा चासोका साथ हेरिरहेका छन् । निर्वाचनको सन्दर्भमा मकवानपुरमा पनि स्थानीय तहको उम्मेदवारको छनौटलाई आन्तरिक रुपमा थालिएको छ । वागमती प्रदेशको राजधानी रहेको मकवानपुर पछिल्लो समय चर्चामा रहने जिल्ला हो । काँग्रेस वागमती प्रदेशका सभापतिको जिल्ला भएका कारण पनि यहाँ हुने हरेक क्रियाकलापलाई चासोका साथ हेरिन्छ । यसअघि बुथ प्रतिनिधि छनौटदेखि वडा, जिल्लामा भएका अधिवेशनमा जस्तै निष्ठा, योगदान, इमान्दरिता, लगानी भएकाहरुलाई अघि बढाइन्छ कि पैसा, पावर भएर नेतृत्वको वरिपरी घुम्नेलाई उभ्याइन्छ हेर्न बाँकी छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पाँच वर्ष अघि भएको उम्मेदवार छनौट, मतपरिणाम र मतदाताको आंकाक्षालाई यसपटक पनि काँग्रेसको जिल्ला नेतृत्वले नजर अन्दाज नगरोस् । जीवनमा युवाचेत देखि अहिलेसम्मको उमेर गढीमा काँग्रेसको बिउ रोप्न, मल हाल्न, पानी हाल्नमै खर्च गरेर अहिले हराभरा बनाउनेमा मेरो पनि पसिना र समय बगेको छ । त्यसैले मकवानपुरगढी गाउँपालिका कार्यालयको नेतृत्वमा काँग्रेसबाट मेरो दाबी र उम्मेदवारी रहन्छ । यो मेरो अधिकारको कुरा हो । अघिल्लो पटक जस्तै मेहनत गर्ने एउटा र फल खाने समयमा अर्को पात्र ल्याउने कुरामा मेरो पूर्ण असहमति छ । ढोका थुनेर मेरो लगानी, मेहनत, निष्ठा र इमान्दारितालाई पैसा र पहँुचले रोक्ने, छेक्ने प्रयास नेतृत्वले गरेमा झ्यालबाट कसरी छिर्नपर्छ मलाई राम्रो ज्ञान र तरिका थाहा छ । नेतृत्वलाई यो कुनै दबाब होइन् । जसरी हरेक पटक नेतृत्वले स्थानीय कार्यकर्ता, मतदाता, भूगोलको यर्थाथता नबुझी निर्णय गर्दा काँग्रेसका इमान्दार कार्याकर्तामा पुगेको चोट, योगदान र लगानी माथि भएको अपमान विरुद्धको आवाजका रुपमा ग्रहण गर्न अनुरोध गर्दछु ।

करिब ४० वर्षदेखि पार्टी नेतृत्वले भनेका हरेक काम इमान्दारिताका साथ निर्वाह गरेको छु । पार्टीले दिएको हरेक भूमिका र जिम्मेवारीलाई पार्टीकै पक्षमा हुने गरी काम गरेको छु । गढीमा रहेका हरेक सामाजिक संघसंस्थाको नेतृत्व सफतापूर्वक गरेको इतिहास र अनुभव छ । माओवादी शसस्त्र द्वन्द्वको समयमा ज्यानलाई जोखिममा राखेर मकवानपुरगढीमा काँग्रेसलाई जोगाउन मेरो पनि भूमिका छ । नेपाली काँग्रेस गढी गाविसको तरुण दलको अध्यक्ष, पार्टीको प्रमुख सल्लाहाकार, मकवानपुरगढी गाविसको सभापतिमा ७ वर्ष, क्षेत्रीय उपसभापति दुई कार्यकाल, किसान संघ जिल्ला सदस्य, पार्टीको जिल्ला सदस्यमा रहेर पार्टीले दिएको जिम्मेवारी पुरा गरेको सबैलाई थाहै छ । ५ वर्षसम्म मकवानपुरगढीको शान्ति समितिको सर्वसहम नेतृत्व, बृहत खानेपानी आयोजाको नेतृत्व, चुच्चेखोला सामुदायिक वन समूहको नेतृत्व, विद्यालय व्यवस्थापन समिति, सहाकारीसहितका संघसस्थामा मैले पार्टीलाई नै हित र संरक्षण हुने गरी काम गरिसकेको छु । यसअघि पार्टी कमजोर अवस्थामा रहँदा पनि तत्कालिन गढी गाविसमा पार्टीले दिएको पदमा उम्मेदवार बनेको थिए । तर अहिले आफैले काँग्रेसको नेतृत्व गरेर मकवानपुरगढीमा काँग्रेसलाई यो उचाईमा पु¥याएको अवस्थामा मैले पालिका अध्यक्षको उम्मेदवार किन हुन नपाउने ? जिल्लाका सबै स्थानीय तहमा निष्ठा, इमान्तारिता र योगदानका आधारमा काँग्रेसले उम्मेदवार चयन गर्नुपर्छ । पैसा, चाकडी र शक्तिको पछाडि लागेका र लाग्नेहरुलाई नेतृत्वले काखा च्याप्ने काम भएमा काँग्रेस आफ्नै कारण स्थानीय तहको निर्वाचनमा पछि पर्ने छ । अघिल्लो पटक उम्मेदवार छान्दा भएका गल्ती, त्रुटीलाई काँग्रेस मकवानपुरले एकपटक अध्ययन गर्न म आग्रह गर्दछु । हिजो काँग्रेस नेतृत्वले जसको कुरा सुनेर मकवानपुरगढीमा इमान्दारहरुलाई पाखा लगाउने काम गर्यो । ति सल्लाहकारहरु अहिले कुन पार्टीमा छन् एकपटक खोजबिन गर्नुहोला । मकवानपुरगढीमा काँग्रेस व्यक्ति बोकेर चुनावमा जाने कि पार्टी र विचार बोकर जाने जिल्ला नेतृत्वले एकपटक सोच्ने समय आएको छ । यो कुनै आवेग र कुष्ठा होइन् । पार्टीमा इमान्दारितापूर्वक लागेको एक सिपाहीको अनुभव र यर्थाथता हो ।

पार्टी प्रतिको लगनशिलता, इमान्दारितार र निष्ठा मान्नेहरुलाई सधैं कर्नर पारेर केही व्यक्तिलाई नेतृत्वले काखी च्याप्ने प्रवृत्तिको अन्त्य यो स्थानीय तहको निर्वाचनबाट काँग्रेस मकवानपुरमा हुनु आवश्यक छ । जिल्लामा नयाँ नेतृत्व आएको छ । पक्कैपनि एउटा निष्ठाको राजनीति गरेर जिल्लाको सभापतिमा पुगेका बुद्ध लामाले आफुजस्तै निष्ठा र इमान्दारितापूर्वक पार्टीमा योगदान दिएकालाई नजरअन्दाज गर्ने छैनन् । निर्वाचनमा उम्मेदवार हुने भनेको पार्टीमा आस्था नराख्ने तर टन्न पैसा भएकाले हो भन्ने जुन मान्यता स्थापित गर्न खोजिदै छ । यसपटक जिल्ला सभापतिसहितको टिमलाई उम्मेदवार पार्टीमा विचार लगानी गरेका, निष्ठावान हुनुपर्छ भन्ने कुरा व्यवहारमा देखाउनुपर्ने चुनौती छ । मकवानपुरगढीसहित जिल्लाका स्थानीय तहमा नेतृत्वले गर्ने यिनै निर्णयले काँग्रेसको जित या हारको निर्कोल गर्ने छ । जय नेपाल

(लेखक काँग्रेस मकवानपुरका नेता हुन् ।)

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु