पहिलो दिनमै १५ लाखको गणना

राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट शुरू गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ ।
पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना शुरू गरिए पनि देशैभर जनगणना प्रारम्भ गरिएको छ । शुरूकै दिन करिब १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्याङ्क विभागले दिएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति कार्यालयमा पुगेर जनगणनाको विवरण सङ्कलन गर्नुभएको थियो । विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई बताए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिन तथ्याङ्क लिइएको हो । जनगणना लिएको सबै तथ्याङ्क गोप्य राखिनेछ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराउनुभएको थियो । यसैगरी गणकले सोध्नुभएको प्रश्नअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपति पुनले राष्ट्रिय जनगणना–२०७८ को सफलताको शुभकामना दिनुभयो । उहाँले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रदेशस्तरमा खटिएका गणक र सुपरिवेक्षकले पनि सम्बन्धित प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पालिकाका प्रमुखको विवरण सङ्कलन गरेर जनगणना शुरू गरिएको विभागले जनाएको खबर गोरखापत्र दैनिकमा छ । जनगणनालाई राष्ट्रिय अभियानका रूपमा शुभारम्भ भएको सकारात्मक सन्देश प्रवाह गर्न विभागले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका प्रदेश र स्थानीय तहका प्रमुखहरूको विवरण सङ्कलन गरिएको जानकारी विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जानकारी दिए।