किसानलाई राहत दिन ‘कृषि संकटकाल’

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले कृषि संकटकाल लगाएर भए पनि बाढीबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन् ।
कृषिसँग विभिन्न संघसंस्थाले बाढीबाट पीडित किसानलाई तत्काल राहत र पुनःस्थापनाको प्याकेज घोषणाका लागि शुक्रवार बुझाएको अनुरोधपत्र बुझ्दै उनले सो कुरा बताए ।
कृषि मन्त्रालयले देशैभरिबाट कृषिमा भएको भएको क्षतिको विवरण संकलन गरिरहेको छ । विवरण आइसकेपछि अवस्था हेरेर किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने धारणा राखेका राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए ।
‘किसानलाई आवश्यक राहत पाउनेछन् । कृषि संकटकाल घोषणा गरेर भए पनि क्षति भएको आधारमा हामीले सबैलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने छौं,’ मन्त्री यादवको भनाइलाई उदृत गर्दै अध्यक्ष बस्नेतले भने, ‘कृषि क्षेत्रमा बर्सेनि भइरहेको क्षतिलाई रोक्नका लागि दीर्घकालीन रूपमा किसान राहत कोषको स्थापना गर्नेछौं ।’
बाढीबाट पीडित किसानलाई संघ र प्रदेशले मिलेर राहत प्रदान गर्ने बताउँदै मन्त्री यादवले बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको बारेमा प्रदेश सरकारले पनि अध्ययन गरिरहेको छ, आफूहरूले छुट्टै अध्ययन शुरू गरेको बताए ।
सरकारले बीमामा सहुलियत दिएको छ तर किसान त्यसप्रति आकर्षित नभएको बताए । बाली तथा पशुपन्छी बीमाप्रति किसानलाई आकर्षित गराउनका लागि कृषि मन्त्रालयले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बीमा गर्न सरल बनाउने उनले बताए ।
कृषिलाई मर्यादित पेसा बनाउन किसानलाई सक्षम बनाउनुपर्ने आवश्यकता रहेको र त्यसका लागि पनि मन्त्रालयले काम गर्ने उनले बताए ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ नेपाल, फियान नेपाल, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालले पनि ‘कृषि सहायता कोष’ स्थापनाका लागि मन्त्रीसँग आग्रह गरेका छन् । कोष स्थापना गरी किसानलाई तत्काल राहत एवं प्राकृतिक विपत्तिमा सहयोग पुर्याउन माग गर्दै ती संस्थाहरूले प्रभावित किसान परिवारलाई बाली भित्र्याउन तत्काल सहायता र धानलाई सुरक्षित गर्ने उपायसहित सहयोग उपलब्ध गराउनसमेत माग गरेका छन् ।
नेपालको मुख्य अन्नबालीका रूपमा रहेको धान काटेर भित्र्याउने बेलामा भएको बेमौसमी वर्षाले पाँच लाख हेक्टरभन्दा बढी जमिनमा लगाइएको धान बाली पूर्ण रूपमा नष्ट भएको ती संगठनले जनाएका छन् ।
बाढीले धानका साथै गहुँ, आलुमा समेत क्षति पुर्याएको उल्लेख गर्दै उनीहरूले किसानले मानो रोपेर फलाएको मुरी धान वर्षाले खलियानमा राख्न समेत नपाई खेतमा नै नष्ट भएको जनाएका छन् ।
परालसमेत खेतमा नै कुहिएकाले वर्षभरि पशु आहार नष्ट भएको छ । नकाटेका एवं पसाउँदै गरेका धानसमेत ढलेर पानीमा डुबेको छ । किसानको वर्ष दिनको खर्चको गर्ज एवं साँझ बिहानको छाक नै खोसिएको मन्त्री यादवलाई बुझाएको स्मरणपत्रमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।