काँग्रेसको महाधिवेशन, सिद्धान्त र वर्तमान अवस्था

गोपी अधिकारी
५ श्रावण २०७८, मंगलवार १२:१३

नेपाली काँग्रेस अहिले १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा रहेको छ । प्रजातान्त्रिक व्यवस्थालाई आत्मासाथ गरेको नेपालकै पुरानो पार्टीमा हुन लागेको नयाँ नेतृत्व चयनको महाधिवेशनलाई सबै पक्षबाट विशेष चासोको रुपमा हेरिएको छ । जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म नयाँ नेतृत्वका लागि दौडधूप चलेको छ । क्रियाशील सदस्य आफ्नो बढी पार्ने खेलमा काँग्रेस नेतृत्वको हानथाप भइरहेका छन् । क्रियाशील सदस्य इमान्दारितापूर्वक पार्टीको नीति र सिद्धान्तमा हिँड्नेले पाउनु पर्दछ । तर अहिले आफ्नो समूहमा धेरै क्रियाशील सदस्य बनाउने होडमा नीति सिद्धान्तलाई पाखा लगाइएको छ । कसरी पदमा पुग्न सकिन्छ भन्ने होडले पार्टीका सिद्धान्त र आदर्श एकादेशका कथा बन्दै गइरहेका छन् । पार्टीमा योगदान पु¥र्याएका भन्दा आफ्नो वरिपरी रहेकाहरुलाई सदस्यता बाँडिएको छ । जसले जिल्लादेखि केन्द्रसम्म विवाद भइरहेका छन् । काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा क्रियाशील सदस्य माथि प्रश्न उठ्ने अवस्था आउनु दुःखद् हो । क्रियाशील सदस्य पार्टीको कुन तहका नेता, कार्यकर्ताले पाउँछन् भन्ने कुरा विधान मै उल्लेख छ । तर पनि यसमा प्रश्न चिन्ह् खडा हुनु पार्टीमा कुन सिद्धान्त र विचार हावी भइरहेको छ भन्ने प्रष्ट पार्दछ ।

विश्वलाई वर्षैदेखि प्रजातान्त्रिक विचार धारा र यसको मान्यताका बारेमा अविचलित रुपमा सन्देश दिइरहेको काँग्रेस अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा महाधिवेशनसँगै बहस र छलफल हुनु आवश्यक छ । नेपाली कांग्रेस संस्थापक नेता वीपी कोइरालाको सिद्धान्तमा चलेको छ छैन ? केन्द्र देखि गाउँ कमिटीसम्म काँग्रेस कुन अवस्थामा छ ? किन काँग्रेस आफ्नो नीति र सिद्धान्तबाट विचलित भएर अन्य पार्टीको पछि लाग्नु परिरहेको छ ? अब पनि निर्मम समिक्षा भएन भने महाधिवेशन कसैलाई नेता बनाउन गरिएको एउटा खेलमा मात्र सिमित हुनेछ । तर पार्टीको नीति, सिद्धान्तमा प्रतिवद्द आम नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अहिलेको घडिमा एकजुट हुनु आवश्यक छ । जसले पार्टीको नीति र सिद्धान्तलाई अंगिकार गरेर मात्र काम गर्न हरेक तहका नेतृत्वलाई खबरदारी गर्नु पर्दछ । पछिल्लो समय पार्टी चिनजान, चाकडी र पैसाले चल्न थालेको छ । नेपाली काँग्रेसको नीति र सिद्धान्तलाई नेतृत्वकै कमजोरी र बेवास्ताका कारण यी तीन चिजले पछाडि पार्दै लगेको छ । जुन कसैले भन्नु पर्दैन सबै तह र तप्कामा रहेर सबैले महशुस गरिरहेका छन् । पार्टीमा इमान्दार संगठक, सिद्धान्त र नीतिलाई स्थापित गर्न जीवनभर मेहनत गरेकाहरुलाई पाखा लगाएर जयजयकार गाउनेहरुको झुण्डमा नेतृत्व विलिन हुन थालेको सबैले अनुभूति गरेको विषय हो ।

जिल्लादेखि केन्द्रसम्म पार्टीमा सघर्ष गरेका, कठिन अवस्थामा पार्टीलाई काँध थापेका, पार्टीको जग बलियो बनाउँन पसिना बगाएका र जनमत जोड्ने काममा दिनरात खेटेकाहरुलाई काँग्रेसले जिल्ला देखि नै पाखा लगाउँदै गएको छ । जसले गर्दा काँग्रेसको नीति र सिद्धान्त भन्दा चिनजान, चाकडी, पैसाले नेतृत्वलाई आकर्षण गरिरहेको छ । तर यो क्षणिक हो । कालान्तरमा यसले काँग्रेसलाई नै क्षति पु¥र्याउनेमा दुई मत छैन् । त्यसैले नेतृत्वले पाखा लगाएपनि, अवसर नदिएपनि, असहयोग गरेपनि उनिहरु पार्टी र सिद्धान्त प्रति सधै बफादार र चिन्तित छन् ।
आज आएर नीति सिद्धान्तमा हिँड्नेहरु थोरै र शक्ति र पैसाका पछाडि दौड्नेहरु धेरै हुँदै गए । नीति, सिद्धान्त अल्पमतमा पर्दै जानु भनेको पार्टी कमजोर हुँदै जानु हो । अहिलेको नेतृत्वले सिद्धान्तलाई देखाउँने दाँत मात्र भएको छ । जसले पार्टीलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको छ । बाहिरबाट हेर्दा सग्लो र उस्तै देखिएपनि भित्रभित्र खोक्रो भएको काँग्रेसलाई अबको महाधिवेशनले सिद्धान्तको बाटोमा हिँडाएर फेरि यसको ओजलाई फर्काउनु आवश्क छ । जुन काँग्रेसका कर्मठ र इमान्दार सिपाहीहरुको काम हो । जसका लागि अब थोरै र मधुरो आवाज भएपनि खबरदारीमा उत्रनुको विकल्प छैन् ।

अहिले पनि वीपीको सिद्धान्तलाई आत्मसाथ गरेर पार्टीलाई जोगाउन लागिपर्नेहरु टोलदेखि केन्द्रसम्म छन् । तर अहिलेको नेतृत्वलाई उनिहरुले पार्टीको सिद्धान्त बोकेको मन परेको छैन् । जुन काँग्रेस पार्टीकै सबैभन्दा गम्भीर डरलाग्दो पक्ष हो । अहिले पनि नेपाली कांग्रेस संस्थापक नेता वीपी कोइरालाको नाममा राजनीति गर्दै आएको छ । कांग्रेसको नेतृत्वले सिद्धान्त र आदर्शलाई भुलेर स्वार्थको राजनीति गरेपछि पार्टी नै कमजोर बन्दै गएको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदानलाई समेत अवमूल्यन गर्ने काम काँग्रेसमा भइरहेको छ । वीपीको आदर्श, मूल्य र मान्यता अहिले पनि नेपाली कांग्रेसका लागि मात्रै होइन, देशकै लागि सान्दर्भिक रहेको छ । तर काँग्रेसले नै त्यसलाई भुल्दै गएको छ ।

अहिलेको वर्तमान राजनीतिक परिवेशमा पनि काँग्रेसले वीपीको आदर्श, मूल्य र मान्यतबाट देशको समस्या समाधान गर्न सक्थ्यो । तर काँग्रेसले त्यो पहल कदमी गरेन् । उल्टै अरुका नीति र सिद्धान्त परस्त हुँदै गएको अनुभूति कार्यकर्ताले गर्दै गएका छन् । पदलाई नै सर्वोपरी ठान्ने नीति मात्र नेतामा विकास हुँदै गएको छ । जसका कारण काँग्रेस गुटैगुटको पार्टी बन्न पुगेको छ । सबैलाई नेतृत्व चाहिने योगदान, निष्ठालाई पाखा लगाएर काँग्रेसको नेतृत्वमा पुग्नेहरुले पार्टीलाई जिवित राख्न सक्दैनन् । शक्ति र पैसाको भरमा नेतृत्वमा पुग्नुलाई ठूलो मान्न र पार्टीलाई उचाईमा पु¥र्याउने कुराको आश गर्न सकिदैन् । अहिले काँग्रेस यिनै परिदृश्यबाट गुज्रिरहेको छ । वीपीले जन्माएको नेपाली कांग्रेस नै कसरी वीपीको सिद्धान्तको अवहेलाना गर्ने अवस्थामा पुग्यो अब पनि खोजी नगर्ने हो भने हामी इतिहासमा सिमित हुने छौं ।

बिड्म्बना नै मान्नु पर्छ नेतृत्वले वीपीको सिद्धान्तको बहस नै गर्न छाडेको छ । अहिलेको नेतृत्व व्यक्तिगत स्वार्थका लागि गुटगट राजनीति चलाउनमै सिमित छ । कांग्रेसको अहिलेको नेतृत्व वा पुस्ताले वीपीको सिद्धान्तलाई बिर्सिएको छ । अहिलेको नेतृत्व जुनसुकै दलसँग पनि सम्झौता गर्ने र सत्ताका लागि मात्रै मरिहत्ते गर्ने गरेको छ जुन वीपीको सिद्धान्तविपरित हो । वीपीले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिले नारामै सिमित भएको छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको पहरेदार साथै जन्मदाताको दाबी गर्ने नेपाली काँग्रेस आज ‘रानो हराएको माहुरीको हुल’ जस्तो बन्दैछ । सुन्दा अप्रिय लाग्ने तर वास्तविकताले मान्न करै लाग्ने बनाएको वर्तमानको नेपाली काँग्रेस न विगतको न भविश्यको स्थितिबाट गुज्रदैछ । कुनै पनि राजनीतिक पार्टी नीति, नियम र बिधानबाट परिचालित हुन्छ भन्ने लोकतान्त्रिक मान्यतालाई मान्ने हो भने नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी काँग्रेस आज कुन विधान अनुसार कसरी चलिरहेको छ ? आज काँग्रेस कमजोर हुँदा लोकतन्त्र धरापमा छ । यदी काँग्रेस आफ्नो नीति र सिद्धान्तमा चलेको थियो भने मुलुक यो अवस्थामा पुग्ने थिएन् । पृथ्वी नारायण शाहले एकीकरण गरेर बनाएको सिंगो देशलाई जोगाउने अभिारा काँग्रेसकै काँधमा हिजो, आज र भोली पनि छ । पृथ्वी नारायण शाहले गरेको योगदानलाई अरुले जे भनेपनि गरेपनि काँग्रेसले सधैं सम्मानका साथ कदर गर्दै अगाडि बढ्नुको विकल्प छैन् ।

काँग्रेसले बाटो बिराउँदा आज देश नै गलत बाटोमा गइरहेको छ । महाधिवेशन हुनु, नेतृत्व चयन हुनु ठूलो कुरा होइन् । यसले पार्टीलाई देशलाई के सन्देश दिन्छ ? पार्टीले अवलम्बन गरेको नीति, सिद्धान्त कस्तो छ ? यसले भोली देश र जनतामा के प्रभाव पार्छ भन्ने कुरा महत्वपूर्ण हो । पार्टीमा निष्ठाको राजनीति गर्नेहरुलाई नेतृत्वमा स्वागत गरे काँग्रेसका धेरै समस्या आफैं समाधान हुन्छ । यसले पार्टीलाई वीपीको आदर्श, सिद्धान्त र नीतिमा हिँडाउन सक्छ । जसले अहिलेको अवस्थामा पुगेको काँग्रेसलाई पुर्नजिवित गराउँदै एउटा सग्लो काँग्रेस बनाउने कामको सुरुवात हुन्छ । यसको विपरीत आसेपासे, चाकडी गर्ने, ज्यूहजुरी गर्नेहरुलाई बोकेर नेतृत्वमा पुग्नेले पार्टीलाई ओरोलो तिर लान्छ । त्यसैले यसको नीति, सिद्धान्तलाई बचाउँदै पार्टीमा कार्यान्वयन गराउनका लागि कर्मठ र इमान्दार काँग्रेसहरु एकजुट हुनुको विकल्प छैन् ।

अहिले फेरि देश र संविधानको रक्षा गर्ने जिम्मा काँग्रेसको हातमा आइपरेको छ । यसलाई काँग्रेसले सुझबुझ र परिस्थिति अनुकुल सञ्चालन गर्न सक्नु पर्छ । अब काँग्रेस माथि पार्टीसँगै देशलाई पनि सही मार्गमा हिँडाउनु पर्ने जिम्मेवारी आएको छ । हरेक राम्रा र गतिशिल पार्टीहरु सत्तामा पुगेपछि विवाद र समस्यामा परेको नेपाली राजनीतिमा देखिदै आएको छ । हिजोको दिनमा नेपाली काँग्रेस पनि यसबाट अछुत्तो रहेन सकेको छैन् । पार्टी भित्र विवाद भएको समयमा सत्तामा उक्लिएको काँग्रसले एमालेको हविगत भोगेर सत्ताबाट बाहिरनु पर्ने अवस्था नआओस् । (लेखक नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य हुन् ।)– हेटौंडा सन्देश दैनिकबाट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु