कोरोनाका कारण मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलबाट तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्ने भएको हो । यस विषयमा रातोपाटीसँग प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसँग छलफल भएको भन्दै मउवा संघका पदाधिकारीहरु निर्वाचनको कार्यक्रम स्थगित गर्ने निश्कर्ष निकालेको बताए ।
‘मउवा संघका पदाधिकारीहरूसँग निर्वाचनका बारेमा छलफल भएको हो, हामीले स्वास्थ्य सुरक्षाको विषयमा रहेर कुरा गरेका थियौं, उहाँहरु आफै निर्वाचन सार्ने निष्कर्षका साथ यहाँबाट जानुभएको छ’ उनले भने । जिल्लाको कोरोना संक्रमणको जोखिम न्युनिकरणको जिम्मेवारी प्रशासनको भएकाले सभा, सम्मेलन, गोष्ठी तथा भेला जस्ता कार्य गर्न प्रशासनले कसैलाई छुट नदिने भन्दै स्वास्थ्य मापदण्डको निर्देशन नै जारी गरेको छ ।
‘हामीलाई कोरोना संक्रमणको जोखिमबाट जिल्लालाई जोगाउने जिम्मेवारी रहेको छ । हामीलाई यति बेला निर्वाचनको कार्यक्रम चाहिएको हैन । निर्वाचन रोकिन्छ । अहिलेलाई त्यति बुझ्नुस’ उनले थपे । यसअघि गत चैत २३ गतेका लागि तोकिएको मउवा संघको निर्वाचन संस्थापन पक्षले एकपक्षीय ढंगबाट निर्णय गराएर रोकेको भन्दै निर्वाचनमा होमिएका उम्मेदवारहरूले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विधान अनुसार निर्वाचन गर्न आग्रह गरेको थियो ।
सो आग्रहपछि मउवा संघले वैशाख १८ गतेका लागि निर्वाचन तोकेको थियो । निर्वाचनको कार्यक्रमको कहिले गर्ने भन्ने विषयमा मउवा संघको आज साँझ बस्ने बोर्ड बैठकले निर्णय गर्ने मउवा संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।