प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र नेकपाद्वारा बहिष्कार

प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव प्रमुख विपक्षी र नेकपाको प्रचण्ड-माधव नेपाल खेमाले बहिष्कार गरेका छन् ।प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सांसदहरु सहभागी भएनन् । यसैगरी नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरु पनि सहभागी भएनन् ।
मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु, राई पक्षका केही सांसद र सरकारी कर्मचारीहरु भने कार्यक्रममा सहभागी भए । प्रमुख विपक्षी कांग्रेसका नेता राजीव कोइरालाले आफ्नो पार्टीको आन्दोलनको कार्यक्रमसँग समय जुधेकाले सहभागी हुन नपाएको बताए । उनले भने, “सरकारले जानीजानी हाम्रो कार्यक्रमसँग समय जुधाएकाले हामी नगएका हौं ।”
कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकारको काम जनप्रिय बन्दै गएको दाबी गरे । उनले तीन वर्षमा सरकारले गरेका कार्य प्रगतिसमेत प्रस्तुत गरे ।