कर्णालीमा दसैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन हुने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दसैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले आफूमाथिको अविश्वास प्रस्ताव गत कात्तिक ७ गते असफल गराएपछि असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेको एक नेताले बताए। ‘अब अविश्वास प्रस्ताव फेल भईसक्यो, मुख्यमन्त्रीज्यूले सबै पक्षसँग छलफल गर्नुहुन्छ ’ ती नेताले भने, ‘सबैपक्षसंग छलफल र परामर्शपछि तत्काल मन्त्रिपरिषद पुनर्गठन गर्नुहुन्छ ।’
मन्त्रिपरिषदमा आफूनिकट र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई समेट्ने शाहीको तयारी छ। मुख्यमन्त्रीले नेपाल पक्षबाट करविर शाही, अमरबहादुर शाही र चन्द्रबहादुर शाहीमध्येबाट मन्त्री बनाउने तयारी गरेका छन् । यस्तै आफूनिकटबाट गोपाल शर्मा,विन्दमान विष्ट र सीताकुमार नेपाली मध्येबाट मन्त्री बनाउने तयारी रहेको उच्च स्रोतले जनाएको छ। मन्त्रिपरिषद पुनर्गठनमा असन्तुष्ट पक्षलाई समेटेर मुख्यमन्त्रीले बहुमत जुटाउने पक्षमा लागेको जनाइएको छ।
कर्णाली विवादका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले छुट्टाछुट्टै पत्र लेखेर निर्देशन दिएका थिए । मुख्यमन्त्री शाहीले आफ्नै तरिकाले अविश्वास प्रस्ताव फेल गराएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा लागेका छन् । तर, कर्णाली विद्रोहका नेता यामलाल कँडेलले अध्यक्ष ओलीको पत्र देखाएर सोहीअनुसार सहमति हुनु पर्ने भन्ने अडान राख्दै आएका छन् ।
अब पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको पत्रले कर्णाली विवादमा कुनै भूमिका खेल्ने देखिएको छैन। तर, कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले कर्णाली विवाद मन्त्रिपरिषद पुनर्गठन गरेर मात्रै मिल्ने बताए। ‘अहिले कर्णाली विवादमा दुई अध्यक्षको दुई निर्देशन आएका छन । कसलाई मानेर जाने समस्या छ’ शर्माले भने, ‘दुबै अध्यक्षको एउटै पत्र नआए मन्त्रिपरिषद पुर्नगठन गरेर सहमती खोज्ने छौं,’उनले भने।