यसरी बच्न सकिन्छ कोरोनाको महाव्याधिबाट

डा. रवीन्द्र पाण्डे
२१ भाद्र २०७७, आईतवार ०७:१५

– लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो । अब यसलाई अन्त्य गर्नुपर्छ । गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ ।

– अब जनजीवन सहज बनाऔं । हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखापर्दैछ । यसले मनोसामाजिक असर देखापरिरहेको छ ।

– हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं । कोरोना संक्रमण सामान्य महामारी हो । यो खोप नआएसम्म रहनसक्छ । तसर्थ यसलाई सरलीकृत बनाऔं । ८५ % संक्रमितलाई आफै वा साधारण उपचारले निको हुन्छ । १० % लाई लाक्षणिक उपचारले ठीक हुन्छ । ५ % लाई आइसीयु, अक्सिजन तथा भेन्टिलेटर चाहिन सक्छ । मृत्यु सरदर २-३ % छ । नेपालमा हाल करिब १ % मृत्युदर छ ।

– हामी सबैले ठण्डा र आफ्नै दिमागले सोंचौं । अज्ञानको पछि नलागौं । आफु क्लियर नभएको कुरा सेयर गरेर, बिदेशी संस्थालाई गालि गरेर वा नभएका बिदेशी उदाहरण दिएर लापरबाही नगरौं ।

– भाइरस परिवर्तनशील हुन्छ । यसले स्वरूप परिवर्तन गरिरहन्छ । यो कहिले कमजोर हुन्छ, कहिले कडा हुन्छ । नोबेल कोरोना भाइरस नयाँ हो । यसको धेरै अध्ययन हुन बाँकी छ । यसको परिवर्तनशील स्वरूपको कारण WHO, CDC, FDA, बैज्ञानिकहरु, विज्ञहरु तथा आम अध्येताको धारणा परिवर्तन हुनु स्वाभाविक हो । भाइरस निकै ट्रिकी हुन्छ । भाइरसको ट्रिकीपन अनुसार कदम चाल्नुपर्ने हुन्छ । तसर्थ पहिले यस्तो भन्थ्यो, अहिले यस्तो भन्यो भन्न भाइरोलोजीमा मिल्दैन । पहिले इटलीमा ९ % मृत्युदर थियो भने अहिले निकै कम छ । एउटा देशको उदाहरण अर्को देशसंग मिल्दैन । तसर्थ यसको व्याख्या आधिकारिक निकाय र विज्ञबाट हुन्छ, त्यसलाई विश्वास गरौँ ।

– कसको उद्देश्य के हुन्छ, हामीलाई थाहा हुँदैन । नबुझिकन अरुको गोटी नबनौं । यसले हामीलाई फाइदा गर्दैन । विज्ञानको विश्वास गरौँ, अज्ञानको होइन ।

– सरकारले लकडाउन वा निषेधाज्ञा खुला गरोस् । रोजगारी बढाओस् । उत्पादनमा अनुदान तथा बजारीकरणको ग्यारेन्टी गरोस् । डुबेका साना व्यापारीलाई बैकल्पिक व्यवस्था गरोस् । न्यून आय भएका व्यक्तिलाई मास्क, साबुन, स्यानिटाइजर तथा राहत प्रदान गरोस् ।

– हामी आम नागरिकले घरबाहिर जाँदा अनिवार्यरुपमा सहि तरिकाले मास्कको प्रयोग गरौँ । व्यक्तिगत दुरी कायम गरौँ । हात सफा गरौँ । भीडभाड नगरौं । यति गर्यौं भने यो महामारी नियन्त्रण हुन्छ ।

– हामीले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने जनजीवन अन्य देशमा जस्तै सहज र सरल हुन्छ । हामीले यी उपाय अबलम्बन गरेनौं भने संक्रमण तीब्र गतिमा बढ्छ । हाम्रो जनजीवन अस्तव्यस्त हुन्छ ।

– हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ । तसर्थ एकजना पनि संक्रमित नहुने रणनीति अबलम्बन गरौँ ।

– विश्वका धनी देशमा भएका क्षति बुझेर हामीले पाठ सिकौं । हामी अरुको तालमा लाग्दा भोलि संक्रमित भयौं भने उनीहरुले साथ दिँदैनन् । हामीलाई चाहिने हाम्रै अस्पताल तथा स्वास्थ्यकर्मी हुन् । उनीहरुलाई प्रोत्साहित गरौँ ।

– अनावश्यक विषयमा बहस गरेर आफुलाई तनावमा नपारौं । त्यसको कुनै अर्थ छैन । केहि सीप सिकौं । उत्पादनमा लागौं ।

– विश्वका धेरै देशमा जनजीवन सहज भएको छ । जनता अनुशासित र सरकार इमान्दार भएका चीन, जापान, कोरिया, भियतनाम, ताइवान, भुटानजस्ता देशमा मास्क, भौतिक दुरी र सरसफाइले संक्रमण नियन्त्रण भएको छ ।

– महामारी एकैपटक संसारभर फैलिएको नयाँरोगको प्रकोपलाई भनिन्छ । यसमा मृत्युदर थोरै / धेरै हुनुको अर्थ हुँदैन ।

– विकसित देशमा भएका आन्दोलनसंग हाम्रो तुलना नगरौं । त्यहाँ बिरामी भए सरकारले सबै हेर्छ । यहाँ हामीले आफैं हेर्नुपर्छ ।

– हामी सबैको सामुहिक प्रयासले जनजीवन सहज बनाऔं र महामारी नियन्त्रण गरौँ । खोप आएपछि महामारीको अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु