साहित्यकार अप्सरा तिम्सिनाको स्मृतिमा ‘सम्झनामा अप्सरा’ वृत्तचित्र प्रर्दशन (भिडिओसहित)

हेटौंडा । मकवानपुरे साहित्यकार अप्सरा तिम्सिना लम्सालको पहिलो स्मृतिमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले आज ‘सम्झनामा अप्सरा’ नामक वृतचित्र प्रर्दशनी तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
आँचल साहित्य कला पुञ्जको अध्यक्षसमेत रहेकी साहित्यकार तिम्सिनाको उपचारकै क्रममा २०७६ साउन १२ गते निधन भएको थियो । उनकै प्रथम स्मृति दिवसको अवसरमा आँचलले वृत्तचित्र निर्माण गरेको हो । साहित्यकार तिम्सिनाको जीवनमा आधारित वृत्तचित्र प्रर्दशनसहित श्रद्धाञ्जली कार्यक्रम गरेर उनको सम्झना गरिएको छ ।
एनएस टेलिभिजन र आँचलले निर्माण गरेको करिब एक घण्टाको वृत्तचित्रमा साहित्यकार तिम्सिनाले साहित्यिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा खेलेको भुमिकालाई देखाइएको छ । विभिन्न क्षेत्रका व्यक्तिले उनको व्यक्तित्व, साहित्यिक, शैक्षिक र सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका छन् । घरपरिवारले उनका बारेमा व्यक्त गरेका श्रद्धासुमन देखि उनले वाचन गरेका कवितासम्म वृत्तचित्रमा समावेश गरिएका छन् ।
वृत्तचित्रमा प्राज्ञा तथा कथाकार माया ठकुरी, वरिष्ठ साहित्यकार तुल्सी थापा, नयनराज पाण्डे, सरिता तिवारी, नारायाण ढकाल, साहित्यक संगमका अध्यक्ष निमेष निखिल, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपाने, वालउज्वल माविका प्रअ शम्भु बर्तौला, उनका श्रीमान प्रकाश लम्साललगायतले आफ्नो धारणा व्यक्त गरेका छन् ।
कोरोना संक्रमणको त्रासका कारण प्रविधिको उपयोग गर्दै जुम मार्फत् गरिएको कार्यक्रमको सभाध्यक्ष आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार आरसी रिजाल, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, गजल मञ्चका अध्यक्ष देवराज तिवारी, श्यामप्रसाद शर्मा प्रतिष्ठानका सुवास खनाल, सिस्नुपानी नेपालका अध्यक्ष गणेश पौडेल, शिक्षक संगठनका अध्यक्ष श्रीराम दाहाल, साहित्यकार उज्वल शर्मा भण्डारी, आँचलकी सहसचिव निरा शर्मालगायतले साहित्यकार तिम्सिनाको साहित्यिक तथा अन्य यात्राको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
साहित्यकार तिम्सिनाको अभयन्तर कथा र किनाराका आवाजहरु कविता संग्रह प्रकाशित भएका छन् । आँचलको संस्थापक उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष रहेकी तिम्सिनाको सम्झनामा आँचल साहित्य कला पुञ्जले स्मृति ग्रन्थ प्रकाशित गर्ने तयारी गरिरहेको छ ।