हेटौंडाको टिसिएन रोडका दुई जनामा कोरोना
हेटौंडा । हेटौंडाको टिसिएन रोडमा वसोवास गर्ने दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा गरिएका स्वाब मध्ये टिसिएन रोडका दुई जना र थाहा नगरका एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
हेटौंडा–१० टिसीएन का एक जना पुरुष र एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ । उनिहरुलाई हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा लगिएको जनाइएको छ । यसैगरी मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–६ को क्वारेन्टिनमा बसेका एक २० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा स्थित किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिका वडा नंबर २३ स्थायी घर भएका थाहानगरमा सटरिंग एबंम वेल्डिङ्ग काम गर्ने पुरूषमा कोरोना पुष्टि भएको चौलागाईले बताए ।
योसँगै मकवानपुर जिल्लामा कोरोना संक्रमित हुनेको कुल संख्या ५० जना पुगेको छ । जिल्लामा यसअघि ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।
हालसम्म जिल्लामा ४०७ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापनमा अहिले ४० जना बस्दै आएको र ७१४ जना होम क्वारेन्टाइनमा बस्दै आएको
प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
मन्त्रालयका अनुसार, जिल्लामा व्यवस्थापन भएको ३५ वटा बेर्डमध्ये हाल ४ जना बस्दै आएका छन् । त्यस्तै, जिल्लामा कोरोना भाइरसको आशंकामा १ हजार ९३९ जनाको आरडीटी र २ हजार २९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको प्रवक्ता डा. सेढाईले बताए ।