परेवाभीर के हो ?

परेवाभिर एक चट्टाने भिर हो । यो मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका को वडा नं ४ र ५ को सिमानामा पर्दछ । साबिक राक्सिराङ गाविसको १,२,३,४,५,६ र ७ नम्बर वडा, साबिक खैराङ, भार्ता, डाँडाखर्क, कलिकाटार गाविसका शतप्रतिशत जनसमुदाय आवतजावत गर्नुपर्ने भीर हो परेवाभिर । ३६५ दिनमा लगभग ९० दिनको लागि हामीलाई सुरक्षित बाटो चाहिएको छ । त्यति समय हामी जुध्नै पर्छ परेवाभीर सँग । हामीले जित्नै पर्छ नत्र हाम्रो भागमा मृत्यु पर्छ । यस्तो जर्जर पीडाबाट मुक्ति खोजिरहेका हामी संग जुहारी खेल्ने र सौदाबाजी गर्ने सवाल छैन ।
पारेवाभीर हामीले बनाएको भीर होइन, यो भीर बनाउनमा हाम्रो कुनै योगदान छैन । यो प्राकृतिक भीर हो । तसर्थ यहाँ बाटो बनाउन हाम्रो योगदानको जरुरी भएको हो । त्यसको लागि अब हामी कुनै कसर बाँकी राख्ने छैनौं । खासगरी परेवाको बथान बास बस्ने भएकोले नै यसलाई परेवाभीर भनिएको कुरामा कति पनि संकोच छैन । त्यो ९० डिग्रीको भीरमा सयौं बर्षदेखि हाम्रा पुस्ता झुण्डिएर नै हिँडिरहेका हुन् । त्यो शिलशिलाले राणा, पञ्चायत, बहुदल भोगिसकेको छ र अहिले गणतन्त्र । अहिले सम्म आधा दर्जन जति मान्छेको ज्यान पनि लिई सकेको छ यसले । शासकहरूको नजरमा हामी जहिल्यै अयोग्य ठहरियौं र त परेवाभीर हाम्रो काल बनेर उभिरहेको छ । दशवर्षे जनयुद्ध र विभिन्न जनआन्दोलन कै कारण दुस्साहस पुर्वक बन्दुक चलाउँदै कलम चलाउने र बोलि सुनाउने ठाउँमा हामीले जिम्मेवारी पायौं । तर शासकहरू हामीलाई गवार ठानिरहेका छन् । पिपा सम्झिरहेका छन् अझै ।
शासकहरूलाई भन्न चाहन्छौं कि हामी बाँदरे र ढुङ्गे युगबाट निकै अगाडि आई पुगि सकेका छौं । हामी सुखी नेपाली र समृद्ध नेपालको महा अभियानमा तिमीसंगै छौं । अब हामी समृद्ध नेपाल हेर्न तिम्रो शहर हेर्न आउनु पर्ने बाध्यता स्वीकार्न तयार छैनौं । हामी सुखी नेपाली भेट्न सहरका गगनचुम्बी महलको ढोका चाहर्ने विवशता स्वीकार्न तयार छैनौं । अब हामी इन्डियाबाट आयात गरेको चामल र तरकारी खाएर गाउँका किसानलाई हेला गर्ने बुज्रुकहरुको कोटको खल्तीबाट मैला धैलाको पहुँचमा विकास पुर्याएर देशलाई समृद्ध र सुखी नेपाली बनाउन लडेका मान्छे हौं । भुइमान्छेलाई अपमान गरेर चित्त दुखाएर तिम्रो कोटबाट जति अत्तरको बास्न आएपनि तिम्रो श्वास गन्धे नै हुन्छ समृद्ध नेपाल र सुखी नेपालीको महाअभियानमा ।
अरुले समुन्द्रमा हजार किलोमीटरको पुल बनाए । अरूले समुन्द्रमा इयरपोट बनाए भनेर उदाहरण दिई दिई परेवाभीरको बाटो बनाउन सम्भव छ भनिरहेका छैनौं हामी । बरु हामी त भनिरहेका छौं कि सप्तकोशीमा र नारायणीमा पुल बनाउन सक्ने देश हाम्रो र हजारौं मिटरको भीमफेदी कुलेखानी सुरुङ मार्ग बनाउन एक अर्ब बजेट छुट्टयाउन आँट भएको प्रदेश सरकारले चार सय मिटरको बाटो बनाउन पाँच करोड छुट्टयाउन सकिन्छ । तिमी किन डराए हामी मृत्यु स्वीकारेर हिँडिरहेको भीर संग ? यो प्रविधिको युग हो महोदय नडराउनुस् । डराउनु पर्ने हामी हो । त्यहाँ हिँडिरहनु पर्नेहरु हो, हामीलाई विश्वास छ त्यहाँ बाटो बन्छ। जसरी पनि बनाउँछौं । त्यो बाहेक हजार बाटो बनाए पनि त्यसको विकल्प छैन । त्यसैले अब कसैको दुबिधा र भ्रमको विज्ञापनको अर्थ छैन । जसले परेवाभीरको बारेमा नकरात्मक टिप्पणी गरेर हामीलाई बाटो बनाउन हतार गराई दिएकोमा धन्यवाद पनि छ।
हाम्रो कुनै सौदाबाजी छैन । हाम्रो कोही पनि विपक्ष छैन । हामी केवल परेवाभीरमा बाटो बनाउनु पर्छ भन्ने पक्षमा हो । यो ४०० मिटर बाटो सम्पन्न हुने बित्तिकै रसुवालाई हेटौँडा संग जोड्न सकिन्छ । केन्द्रीय राजधानीको अलावा बाटोबाट चाइना जोड्न सकिन्छ । यो प्रदेश गौरवको योजना तथा रणनैतिक सडक बनाउन सकिन्छ । भोलि मनहरीबाट चुरे छिचोल्ने सुरुङ्ग मार्ग बनाएर सिधै भारतको बोर्डर जोड्ने सडक बनाउन पनि कुन ठूलो कुरा होला र रु हो, त्यसैले हामी यो बाटो जसरी पनि बनाउँछौं किनकि त्यो संग हामी लाखौं मान्छेको जीवन जोडिएको छ । हाम्रो जीवन संग खेलवाड गर्ने अधिकार जनताले कुनैपनि शासकलाई दिएको छैन र हुँदैन । यदि त्यस्तो कुनै भ्रममा छ तिमी भने हामीलाई गाली गर्दै बस् हामी तिमीलाई स्वागत् गर्न निरन्तर र गतिशिल भई बाटो खनिरहने छौं । तिमी कुनै दिन सर्माउँदै त्यो बाटो हिंड्ने नै छौ । हामी गर्न सक्छौं भन्ने महशुस दिनेछौं उपहारको रुपमा ।
बेलैमा सद्बुद्धि आओस् । यही कामना छ ।
( लेखक वाग्मती प्रदेशका सांसद हुन् । उनले सामाजिक सञ्जालमा राखेको विचारलाई हामीले प्रकाशन गरेका हौं ।)