रौतहट जिल्लामा इस्टुको तदर्थ समिति गठन

हेटौंडा । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) राष्ट्रिय समितिको आयोजनामा रौतहट जिल्लामा इस्टुको तदर्थ समिति गठन गरिएको छ । संस्थागत विद्यालयका शिक्षक–कर्मचारीहरुको भेलाले ध्रुव सिग्देलको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समन्वय समितिको तदर्थ समिति गठन गरेको हो ।
इष्टुका राष्ट्रिय समिति सदस्य तथा प्रदेश नम्बर २ का कार्यवाहक इन्चार्ज सुदीप बर्तौलाको अध्यक्षता तथा इष्टु राष्ट्रिय समिति सचिव एवम् प्रकाशन विभाग प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा इस्टु मकवानपुर अध्यक्ष सचिन लामा, इस्टु संवाद समिति मकवानपुरका संयोजक श्यामकृष्ण ज्ञवाली, हेटौँडा नगर कमिटी अध्यक्ष सीएम रिमाल, चन्द्रपुर नगरपालिका शिक्षा विकास महाशाखा प्रमुख दीपेन्द्रकुमार मण्डललगायतको आतिथ्य रहेको थियो ।
भेलामा सहभागी सबै शिक्षक–कर्मचारीले रौतहट जिल्लाभरका संस्थागत विद्यालयमा कार्यरत शिक्षक(कर्मचारीका पेसागत समस्याको रिपोर्टिङ राखिसकेपछि कार्यक्रमका प्रमुख अतिथि गौतमलगायत सबै अतिथिहरूले नेपालमा बौद्धिक क्षेत्रमध्ये विशेषगरी संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीमा श्रमशोषणको व्यापक समस्या रहेकाले सोको अन्त्यका लागि संस्थागत विद्यालयमा कार्यरत आम शिक्षक–कर्मचारी एक हुनुको विकल्प नरहेको प्रशिक्षणात्मक विचार प्रस्तुत गर्नुभएको थियो । भेलापश्चात् गठित तदर्थ समितिले आगामी ६ महिनाभित्र रौतहट जिल्लाका सम्पूर्ण स्थानीय तहमा सङ्गठन विस्तार गरी बृहत् जिल्ला अधिवेशन गर्नेसमेत निर्णय गरेको छ ।