उज्यालोको आशामा बसेका समुदाय

बिन्ती गुरागाईँ
२० जेष्ठ २०७७, मंगलवार १४:२८

जेठ १० गते नेपालको पश्चिम रुकुममा भएको घटना सुन्दा कसैको जिउ काँपेन भनेर भन्न सकिन्न । हामीले विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएअनुसार लगभग सय भन्दा बढी गाउँलेहरुको जमातले ११ जना केटाहरू माथि गरेको निर्ममतापूर्वक आक्रमणमा ६ जना युवाहरुको ज्यान गएको छ । त्यस्तो निर्दयी तरिकाले ६जना अबोध यृवाहरूको ज्यान लिएको सुन्दा हामी सबैको जिउ काँप्नु त सामान्य हो । आजको यस युगमा आएर जातको कुरालाई लिएर त्यसरी मान्छे मारिदा हामीे एक्काइसौं शताब्दीमा छौँ भनेर गर्व गर्ने कुनै आधार देखिंदैन ।

यो घटनालाई सरसर्ती हेर्दा मात्र पनि मानिसमा चेतना र मानवता नै नभएर मान्छे एउटा पशुभन्दा पनि तल्लो स्तरमा पुगेको भान जो कोहीलाई हुन्छ । उक्त दिनकोे घटनालाई लिएर सामाजिक सञ्जाललगायतका बिभिन्न सञ्चार माध्यमबाट दोषीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ भनी बिभिन्न व्यक्ति तथा समुदायबाट माग गरिएको सुनियो । धेरैले धेरै प्रकारका राय दिएका छन् । त्यही रायहरू पढ्दै जाँदा मेरो मनमा एउटा प्रश्न उठ्यो। हामी अहिले यो रुकुमको घटनालाई लिएर सामाजिक सञ्जालमा दोषीलाई कडा भन्दा कडा सजायँ हुनुपर्छ भन्दै कराइरहेका छौ तर यस्तै प्रकारको घटना हाम्रो बस्तीमा अझै हाम्रै घरभित्र घट्न गयो भने हामी मध्ये कतिले प्रतिकार गर्न सक्छौं? बोल्न सक्छौं ? यदी हामीहरू मध्ये कसैको घरमा दाजुभाइ, दिदीबहिनी वा आफैंले आफूभन्दा तल्लो जातिसँग बिहे गर्छु भन्दा हाम्रा घरमा त्यो कुरालाई सहजै स्वीकार गरिन्छ त?यो प्रश्न सबै भन्दा पहिले आफैंलाई सोध्न जरुरी म देख्छु ?

भनिन्छ प्रेम दुई मुटुको एक ढुकढुकी हो । प्रेम शाश्वत सत्य हो । प्रेम अढाई अक्षरमा समेटिएको ब्रह्माण्ड हो । जसमा अद्भुत शक्ति छ । यो संसार नै प्रेममा टिकेको छ। प्रेम कै भरमा संसार चल्ने भएर होला यो यति अनन्त र विशाल छ यसको व्याख्या गर्न समेत हर कोहीको वशमा छैन । प्रेम अन्धो हुन्छ भनेर हामीले सुन्दै आइरहेका छंौ। त्यही प्रेम अन्धो हुनका कारण प्रेम छुटाउनकै लागि विभिन्न परिवारमा ज्यान लिने सम्मकै घटना घटेको यो पहिलो होइन तर मैंले होस सम्हालेदेखि यति निर्मम तरिकाले एकै पटक यति धेरैको ज्यान जाने सम्मको घटना भने यो पहिलो नै हो ।  धेरै जसो प्रेममा बाधाको रुपमा जात, धर्म, संप्रदाय, धनी र गरिवबिचको असमानता आउने गरेकोछ । को सानो,को ठुलो, को निर्धो, को बलियो आदि जस्ता कुराहरुले समाजमा बिशेष गरेर प्रेमको सन्दर्भमा बिखण्डन ल्याइरहेका हुन्छन् ।

समाजमा उच्च जातका भनिने मानिसले आफृभन्दा तल्लो जातकासँग प्रेम गरेर विवाह गर्न खोज्दा घरमा त्यही कुराले रडाको मच्चिन्छ ।यस्तो छ हाम्रो समाज । त्यस्तो नीच मानसिकता छ हामी सामाजिक प्राणी भनिएकाहरुमा समेत । जबसम्म समाजमा परिवर्तन आउँदैन तबसम्म यो जातपातको विवाद आइनै रहन्छ । एक अबोध युवाले आफ्नो नामको पछाडि बिश्वकर्मा भएकै कारणले आफ्नो प्रेमका लागि आफ्नै आहुति दिनुपर्यो । यी समाजका मान्छेलाई कसले दियो यो आजादी?मान्छे मान्छे बीचजातको कुरा निकालेर भेदभाव गर्ने । समाजको यस्तो नकारात्मक प्रवृतिहरुले गर्दा आज नवराज र उसका ती ६ जना साथीले ज्यान गुमाउनु परेकोछ । हाम्रो समाजको यस्तो नराम्रो कुरीतिहरुले गर्दा ज्यान गुमाउने नवराजहरु धेरै छन् । यदी अझै यस्ता प्रचलन रोकिएन भने नवराज जसरी आफ्नो ज्यान गुमाउने अझै धेरै नवराजहरु जन्मन्छन् ।

अछुत (छुननहुने) जस्ता तिरष्कृत शब्द त कत्ति प्रयोग भयो भनेर गनी साध्ये छैन । मन्दिरमा पस्न नहुने, पँधेरामा जान नहुने, हुँदाहुँदै कोठा खोज्न जाँदा जात थाहा पाएपछि कोठा नदिनेसम्म गरिन्छ । हामीले केका आधारमा यसरी जातीय वर्गीकरण गरेका छौ ? आखिर रगत त नवराज र उनकी उच्च बर्गकी भनिएकी प्रेमिकाको पनि रातै रङ्गको नै छ।हाम्रा पुर्खाले ४ जात ३६ वर्णको विभाजन काम बाँड्न सजिलो होस् भन्ने मनसायले गरेका हुन् तर यी ठूला जातका भन्नेहरुले यस्कै फाइदा उठाई मानिसबीच यतिसम्मको भिन्नता गरिदिए ।

संविधान देशको मुलकानुन कै भाग तीन मौलिक हक र कर्तव्य भित्र धारा १८ समानताको हक मा कुनैपनि मान्छेलाई धर्म, जात,वर्ण,लिङ्ग,आर्थिक अवस्था वा अन्य कुनै पनि आधारमा भेदभाव गर्न पाइँदैन भनि उल्लेख गरिएको छ । साथै धारा २४ छुवाछुत तथा भेदभाव विरुद्धको हकमा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात,जाति, व्यवसाय को आधारमा नीच वा उच्च भनी दर्शाउन पाइँदैन भनेर उल्लेख गरिएको छ । यी कानुनहरू ल्याइएको लामो समय भई सक्दा पनि समाजमा केही परिवर्तन आएको देखिँदैन । कानुन ल्याउँदैमा मात्रै हुँदैन त्यसको राम्रोसँग कार्यन्वयन गर्नु पनि जरुरी हुन्छ तर हाम्रो देशको कानुन कागजमा त छ । त्यसको कार्यान्वयन भने देखिँदैन । त्यही भएर होला सायद नेपालको कानुन ठुलाले जानुन भनिएको। यो एउटा घटना अदालत समक्ष पुग्ला तर यहाँ यस्ता हजारौँ घटनाहरु छन् जुन ओझेलमा परेका छन।

हाम्रो समाजमा यस्ता निरिह व्यवहारहरू गर्न कहिले छोडिन्छ ?कहिलेदेखि नामको पछाडि आउने थर देखि मान्छेलाई मुल्यांकन गर्न बन्द हुन्छ ? यस्तो समय कहिले आउला जब हामी सबै नेपाली मात्रै भएर चिनिनेछौँ । नेपालीको आँखाले मात्रै हेरिनेछौँ । कानुनी प्रक्रियाले मात्र जातीय भेदभावको अन्त्य हुने भए आजको आधुनिक युगसम्म आइपुग्दा अन्त्य भइसक्ने थियो। आजको वैज्ञानिक तथा प्राविधिक युगमा जाहाँ भूगोल भूगोल बीच, देश देश बीचको सीमा पार गरेर नेपाली विश्वमा फैलिएका छन् । आज वैज्ञानिकहरूले एक ग्रहबाट अर्को ग्रहमा मानवीय बस्तीको परिकल्पना गर्दै छन् । त्यही युगका हामी भाइ भाइ बीच छुत र अछूतको आवाज घन्काउनु आफैमा लज्जास्पद छ। एकतामा बाँधिन कानुनले तोकेको दायरामा मात्र सीमित नभएर धार्मिक संस्कृतिक एवम् मनो वैज्ञानिक तवरले जागरूक हुन सकेमा र कानुनले मनोवैज्ञानिक स्तरमा चेतना अभिवृद्धि गर्न सकेमा मात्र उत्पीडित समुदायले राहत महसुस गर्ने छन् र समाजमा अन्धकार हटी सूर्य उदाएर उज्यालो भएको आभास गर्ने छन् ।
(लेखकः काठमाडौं स्कुल अफ लमा वी.ए. एल. एल.बी. तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु