युवकको मृत्युपछि नेपाल–भारत सीमाक्षेत्रमा तनाव

बाइलाइन नेपाल
१४ जेष्ठ २०७७, बुधबार १२:३८

भारतबाट नेपालतर्फ आइरहेका एक युवकको धनुषाको जटही नाकामा मृत्यु भएपछि सीमाक्षेत्रमा तनाव उत्पन्न भएको छ ।

धनुषा जिल्लाको सहिदनगर नगरपालिका– ९ का ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले ज१त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

खाना नपाएका कारण नेपाल–भारत सीमाको जटही नाकामा एक युवकको मृत्यु भएको प्रदर्शनकारीहरूको भनाइ छ ।

जटही नाकामा रहेको बेलामा नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एक जनाको मृृत्यु भएपछि त्यसको आक्रोशमा ती नेपालीहरू जटही नाकाबाट प्रदर्शन गरिरहेका छन् ।

भारतमा रहेको बेला करिब १५ दिनदेखि चिउरा, मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि युवकको भोकका कारण मृत्यु भएको बताइएको छ । मृतक यादव अहमदावादमा होटलमा कुकको काम गर्दै आएका थिए ।

आक्रोशितहरूको भीडलाई प्रहरीले समेत रोक्न सकेको छैन । उनीहरूले पत्रकारविरुद्धसमेत नाराबाजी गरिरहेका छन् । पत्रकारहरूले आफूहरूका बारेमा समाचार सम्प्रेषण नगरेको आरोप लगाएका छन् ।

धनुषाको नगराइनमा ठूलो संख्यामा प्रहरी परिचालन गरी रोकिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए ।

सहायक प्रजिअ पोखरेलका अनुसार स्थानीय प्रशासनले उनीहरूलाई सो नाकाबाट नेपाल भित्र्याउनका लागि बिहान १० बजे र साँझ ६ बजे बस सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाए पनि उनीहरूले आफूहरूलाई तत्कालै घर पुर्‍याउनुपर्ने अडानमा थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु