प्रिय प्रेमकुमारी

मेरी दिलकीरानी, मायाकी खानी,
असाध्यै ज्ञानी, अर्धाङ्गिनी प्रिय प्रेमकुमारी–
यहाँ जाती छु, खाएको पचेको छ, घाती कोरोनाबाट ज्यान बचेको छ, आजसम्म डर छैन, भोलीको भर छैन, त्यहाँ घरभित्र कोरोना छिर्ला ढोका बन्द गर्नू, खुल्ला राख्नपरे झ्याल राखे,होसियार भएर बस्नु आफ्नो शरीरको ख्याल राखे।
प्रिय प्रेमकुमारी,
रेमिट्यान्स कमाउन, सुखद घरवास जमाउन र खुशीले रमाउन गोल्पुभञ्याङ्गको गैरीखेत धितो राखी रित्तो झोला बोकेर, गोल्डस्टार जुत्तामा कुलेलाम ठोकेर घरबाट हिडेको र एयरपोर्टबाट हवाई जहाजमा उडेको त्यो पल अहिले पनि झलझली याद आइरहेको छ।
पुर्खाको पाखोले माखो नमर्ने भएपछि कसरी गर्जो टार्ने र पेटका मुसा मार्ने भन्ने चिन्ताले चिथोर्न कहिल्यै छोडेन।भान्छा कसरी तताउने भन्ने समस्याले सधै सताउने गरेको र छिमेकी छत्र बहादुरलाई बिदेश गएर सत्र परेको खबरले मन त्यसै चौचौ भएर थामी सक्नु भएन।
युवाजती सबै विदेश पसेका र बुढाबुढी मात्र गाउँमाबसेका हुँदा यत्रो लक्का जवान बुढाबुढीसँग भाखा मिलाएर गाउँमा बस्नमनले मानेन।यता हेर्यो बाँझो, उता हेर्यो बाँझो। बाँझो फुटाउन र अन्नका दाना जुटाउन जाँगर चलेन। ूजाँगर न साँगर खाने बेलामा आँ–गरू भने झैं मुखमा आएर त्यत्तिकै पर्ने कुरा पनि भएन। कताको मल कताको जल। मल र जल नभएपछि के को लाग्थ्यो फल।
टंकामा भएको रातो पुर्जाको समेत गुम्सिएर सातो जाला र धमिराले खाला जस्तो भैसकेको थियो। पुर्जा हेरेर मात्र पेटका पाटपुर्जा बलियो नहुने। पेटका पुर्जा बलियो हुन अन्नको खलियो चाहिने रहेछ। बाझोँ खेतवारीमा कसरी लाग्नु बलियो अन्नको खलियो ? रित्तो भकारीमा मुसाले गुँड लगाएर भ्रुणमात्र हुर्काउने डर।पेट पाल्नभकारीको कहिल्यै भएन भर।
जमिनमा ताप्रे झांङ्गिए पनि केही नफलेर पुरै नाङ्गिए पनि रेमिट्यान्सले रमाइलो हुने भएपछि के को रगरग रुफेरी जमिन जोत्ने गोरु पिताका सन्तान नै पाउने कहाँ ? गाई मातालाई नै सीमाना तार्न र भिरबाट गुल्टाएर मार्न थालिसके। ट्याक्टरले कोपर्न पनि मिनेटको २५÷३० रुपैयाँ भन्छन्। हुनेले खनखनी गन्छन्, नहुँनेले पसिना पुछ्दै ठसठसी कन्छन। यसो गर्नपनि हाम्रो बुताले भ्याउने कहाँ ? उही ूबाँदरको बथानमा लंगूर शेर, आय भन्दा व्यय धेरू भनेझैं यसरी ट्याक्टरले टुकटुक गरेको अर्थ नै के ? फेरीसाँधमा रहेका सँधियारका सबै जग्गामा काँस फुलेपछि आफूले मात्र खेतीपाती गरेर चराचुरुङ्गीको जाती हुने बाहेक उपलब्धि शुन्य। त्यसैले ूआफैं राँड देशै भाँडू भने झै कागका बधानमा बकुल्लो बनेर अरुको गाली खानु भन्दा भएका जग्गा जमिन खाली राख्नु नै बेस भन्ने हाम्रो गेसलाई मथिङ्गलको मौसमी रेसले समर्थन नजनाउने कुरै भएन।
त्यसमाथि पनि तिमीले टंकामा धमिरोले ढुसी पार्न लागेको पुर्जालाई बंकातिर सार्न पाए पुर्जाले पनि वास्नादार ढर्रामा ढुकेर जुनी फेर्न पाउने र हजुरले पनि विदेश हेर्न पाउने भन्दै हल्ला नगरी शहरका बंकामा रातो पुर्जा ढुकाउने र जो भएको जमिन सोडकेसभित्र लुकाउने भनी दिएको सल्लाह हाम्रा माननीय मन्त्री महोदयको पी।ए।ले दिएको भन्दा कम ओजपूर्ण थिएन।
टंकाबाट झिकेको प्रिय लालपुर्जा लंगुर बुर्जामा थापेको दाउ जस्तै बंकामा ढुकेपछि अरुले रुपैयाँ कहाँबाट ल्यायो भनी नानाथरीशंका गर्ने कुरापनि भएन।कसैको अगाडि दुःख पोख्न पनि परेन। उता पुर्जा खुशी, यता हाम्रो मनै झुशी। फेरिभिसा लागेको खिसा सुन्दा सबै दंग,ससुरालीदेखि मावलीसम्मउत्तिकै उमंग।
जे होस् खाडीमा आएर गाडिए पनि, होटलमा भाँडा बर्तन माडिए पनि,विदेशीका पाउ समाए पनि, जे जसरी कमाए पनि, रेमिटेन्स समाएपछि कसरी कमायो भन्ने कुरै भएन। भेडा चराए पनि,मरुभूमिको तातोमा हराए पनि कहाँ गएको भन्दा विदेश फलाना मुलुक भन्न पाएकै छ। सरकारले पनि हामीले पठाएको रेमिट्यान्सको राग गाएकै छ । तिमिले पनि फरेन–कन्ट्रीका पहिरन लाएकै छ।ू अरुका कुराकाट्ने र राती कोल चाट्नेले ू जे सुकै भनुन् त्यसको के मतलव ।
प्यारी प्रेमकुमारी,
अरु सबै ठीकै थियो।रेमिट्यान्स कमाएकै थियो । तिमिले पनि आइएमई मा गएर बेलाबेलामा टकटक गर्ने नोट समाएकै थियो।कसैको खसखस थिएन।भान्छाको रौनक र रेमिट्यान्सको रसले उदरमा समेत अन्नको कस लागेको हुँदा भूँडीभित्रका भाइसरले समेत हामीलाई जस दिएको थियो।
तर यो भाइसरको कुरा गर्दा अहिले आङ्ग नै सिरिङ्ग हुने भएको छ। को–रोना, को–हाँस्ना भन्नेभाइसरले अहिले मानव जाति माथि नै साङ्घातिक आक्रमण गर्न लागेको हुनाले संसारै तातिएको छ, मेरो पनि पूरै मन आतिएको छ।
यो भाइरसबाट कसरी बच्ने भनेर सरकारले भनिरहेको छ, संचार माध्यमहरुले पनि सूचना कनिरहेको छ। मसिना मट्यांग्रा र तिमीलाई घरमा छोडेर विदेश आउँदा मलाई कताकता तिमी असुरक्षित हुने हो की भन्ने डर लागिरहेको थियो।तर अहिले कोरोनाको कहरले घर बाहिर ननिस्किनू, कसैसँग नजिस्किनू, कसैलाई नछुनू, अरुसँग गाढा नहुनू, टाढा रहनुभनेको हुँदा यति गर्यौ भनेपक्कै तिमी पनि सुरक्षित रहनेछौ भन्ने विश्वास लिएकोछु।
बिहान बाथरुमा जल(मल चढाएपछि, ढोका खोल्न हात बढाएपछि, कसैसँग बोलेपछि,दाँत मोलेपछि, नाक मुख कनाएपछि, काखी गनाएपछि, चुलो चलाएपछि, आगो जलाएपछि, दाल चामल केलाएपछि, पूजाका सामाग्री सेलाएपछि, चिया पिएपछि, कसैलाई केही दिएपछि, तरकारी काटेपछि,रुपैयाँ साटेपछि र कुनै काम गर्न आँटेपछिपटकैपिच्छे साबुन पानीले मिचीमिचीहात धुने गर्नू।
घरबाहिर निस्कनै परे मुख थुन्नू। पुरानो कपडा खोजेर मुखौरो बुन्नू।थोत्रो कपडाको गन्धले कोरोनाको मुख बन्द हुनेछ।यदि साबुन नभए कमेरो, खरानीले हात मुख धुनू। कमेरोले मुख धुँदा चमेरोजस्तो अनुहार पनि कमेरोजस्तै उज्यालो हुन्छ।अरुको घरमा नजानू, कसैले दिएको नखानू,घरको वरिपरी डोरीले घेर्नू,शरीरमा पूरै कपडा बेर्नू।
घरभित्र पसेपछि अल्कोहल मिसाएको झोल पदार्थ दल्नू। सो नभए गाउँ घरमा पाउने तीनपानी, कमेरेपानीले हातमुख पुछपाछ गर्नू।त्यो भाइरसको मुख्य औषधी भनेकै तातोपानी हो। हातमुख धुँदा जतिखेर पनि तातोपानीले धुनू।तातोपानीले भाइरसको बोसो गल्छ र ठाउँको ठाउँमै ढल्छ। भाइरसको बोसो र चोसोलाई तातोपानीले खुइल्याएपछि त्यसको सबै तत्व मर्छ र संकट टर्छ।
आहत परेको बेलामा राहतको ठूलो महत्व हुन्छ। राहतको नाउँमा गाउँमा कीरा परेका मोटा चामल भिडाउने र फेसबुकमा चिल्ला फोटा हिंडाउने चलन छ्याप्पछ्याप्तीछ। तिमीले पनि त्यस्ता चामल पायौ भने राहतको पोको फोएर, तातोपानीमा धोएर कीरा मर्ने गरी पकाएर मात्र खानू। फेरी अर्को भाइरस जाग्ला र झाडा पखाला लाग्ला। यति कुरा जाने, मैले भनेको माने।उही तिम्रो प्यारो पोइ, त्रिलोचन तिलकाने । इति,हेटौंडा–४