मोरङ र सुनसरीको मस्जिदमा ९१ जना विदेशी

बाइलाइन नेपाल
६ बैशाख २०७७, शनिबार २०:२८

विराटनगर । मोरङ र सुनसरीका विभिन्न मस्जिदमा ९१ जना विदेशी नागरिकहरू भेटिएका छन्। जसमध्ये मोरङमा १९ जना र सुनसरीमा ७२ जना रहेको सुरक्षा निकायले जानकारी दिएको छ ।

मोरङको विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी क्षेत्रमा रहेको मस्जिदमा ३१ जना आश्रय लिएर बसेको पाइएको हो ।

प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी र १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको सुनबर्सी नगरपालिकामा नौ जना पाकिस्तानी, धनपालथान गाउँपालिका ७ को जामे मस्जिदमा १० भारतीय लकडाउन अघिदेखि बसिरहेका हुन् ।

जहदा गाउँपालिकामा पर्ने सिक्टी क्षेत्रमा भने १२ जना नेपाली बसेका छन् । उदयपुरको मस्जिदमा संक्रमित भेटिएका कारण यो संख्या बढ्न सक्ने प्रहरी अधिकृत बताउँछन् ।

मस्जिदमा भेटिएका सबै मुस्लिम धर्म गुरुहरू हुन् । उनीहरू सबैको र्‍यापिड टेस्ट गर्दा एण्टिबडी नेगेटिभ देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मस्जिदमा बसेकाहरु प्रहरीको निगरानीमा छन् ।

धनपालथान गाउँपालिकाले भारतीय नागरिक बसोबास गरिरहेको मस्जिदलाई नै क्वारेन्टाइन बनाएको गाउँपालिका अध्यक्ष हरिलाल सिंहले बताए । उनका अनुसार गाउँमा बस्ने सबैको र्‍यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सुनसरीमा ७२ जना विदेशी

यस्तै सुनसरीमा भने ७२ जना विदेशी नागरिक भेटिएका छन् । विदेशी नागरिक पाकिस्तान र भारतबाट आएका हुन् ।

विभिन्न मस्जिदमा भेटिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले बताए ।

‘कोरोनाबारे सचेत नै देखिएनन्,’ उनले भने, ‘संख्या बढ्नसक्ने भएकाले मस्जिद खाली गराएर सबैलाई क्वारेन्टाइनमा राखेका छौं ।’ सुनसरीमा पनि विदेशी नागरिकको संख्या थपिने क्रममा छ ।

कमजोर सुरक्षा संयन्त्र

प्रहरी स्रोतकाअनुसार पछिल्लो समय सम्पर्कमा आएकाहरु सबैले सप्तरीमा भएको धार्मिक सभाका लागि आएको बताएका छन् । सभाका लागि भित्रिएकाहरु तत्कालै भित्रने स्थानीय प्रशासनले बताएको थियो । तर उनीहरु भित्र भित्रै लुकेर बसेको स्थानीय प्रशासनले जानकारी समेत पाएन ।

मस्जिदमा बसेकामध्ये केही मात्र स्थानीय प्रशासनले खोजी गर्दा भेटेका हुन् । मोरङको हकमा भने तीनै स्थानमा बसेकाले लकडाउन कडाई गरेपछि प्रशासनलाई जानकारी गराएका थिए । सुनसरीका डीएसपी शर्मा सर्बसाधारणबाट सहज रुपमा सूचना नै नआएको बताउँछन् ।-साभारः अनलाइनखबर डटकमबाट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु